क्वाटरमै भेटियो घुसको रकम, सिँचाइ कार्यालयका डिभिजन प्रमुखसहित दुई अधिकारी अख्तियारको फन्दामा

क्वाटरमै भेटियो घुसको रकम, सिँचाइ कार्यालयका डिभिजन प्रमुखसहित दुई अधिकारी अख्तियारको फन्दामा

सर्लाही । सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनीहरूलाई ८ लाख २१ हजार रुपैयाँभन्दा बढी रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुख ढकालको क्वाटरमा छापा मारेको थियो। छापाका क्रममा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ नगद फेला परेको अख्तियारले जनाएको छ।

खानतलासीका क्रममा स्रोत खुल्न नसकेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएको अख्तियारका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए। बरामद गरिएको रकमसहित कुल ८ लाख २१ हजार ११५ रुपैयाँ फेला परेपछि दुवै अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

सेवाग्राहीसँग घुस मागेर रकम लिएको सूचनाका आधारमा अख्तियारले निगरानी बढाएको थियो। सोही क्रममा विशेष अपरेशन सञ्चालन गरी क्वाटरमै रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो।

सरकारी कार्यालयका जिम्मेवार अधिकारी नै घुस लेनदेनमा संलग्न भएको आरोपसहित पक्राउ परेपछि सिँचाइ विकास डिभिजन कार्यालयको कार्यसम्पादन र सुशासनमाथि गम्भीर प्रश्न उठेको छ। अख्तियारले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP