पोर्चुगलमा नक्कली छाप र हस्ताक्षर प्रकरण: दुई हजारभन्दा बढी नेपाली संकटमा

पोर्चुगलमा नक्कली छाप र हस्ताक्षर प्रकरण: दुई हजारभन्दा बढी नेपाली संकटमा

काठमाडौ, फागुन १० — पोर्चुगलमा रहेका नेपाली समुदाय अहिले ठूलो कानूनी संकटमा परेको छ। नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) मा पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली प्रयोग भएको उजुरी दिनेहरुको संख्या दुई हजारभन्दा बढी पुगेको छ। यहाँस्थित नेपाली राजदूतावासमा उजुरी दिने नेपालीहरुको संख्या दिनहुँ बढ्दो छ भने, उनीहरु मध्ये धेरैले आफ्नो प्रमाणपत्र सक्कली भए पनि त्यसमा प्रयोग भएको छाप र हस्ताक्षर नक्कली भएको दाबी गरेका छन्।

पोर्चुगलमा रहेका नेपाली आप्रवासीहरुका लागि यस प्रकारको प्रकरण नयाँ होइन, तर यसपटकको घटनाले ठूलो समस्या निम्त्याएको छ। उजुरी दिनेहरुले कतिपयले आफ्नो प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि काम लगाएको व्यक्तिको नाम नै किटान गरेर उजुरी दिएका छन्। भारतको दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर भएका प्रहरी रिपोर्टहरु नक्कली भएको पुष्टि भएको छ।
प्युठानका बिनोद सुनारका अनुसार, लिस्बनस्थित नेपाली राजदूतावासमा परराष्ट्र सचिवसहितका अधिकारीहरुलाई यस विषयमा जानकारी गराइएको छ। उनले भने, “हाम्रो समुदायमा हजारौं नेपालीहरु ठगीको शिकार भएका छन्। हामीलाई हाम्रो अधिकार र सुरक्षा सुनिश्चित गर्न सरकार तथा दूतावासको सहयोग चाहिएको छ।”

नेपाली राजदूत प्रकाशमणि पौडेलले पनि पुष्टि गरे कि दूतावासमा हाल उजुरी दिने कार्य मुख्य काम बनेको छ। उनले भने, “सयौं नेपालीहरुले आफ्नो प्रहरी रिपोर्टमा नक्कली छाप र हस्ताक्षर भएको उजुरी दिएका छन्। हामीले लेखित रूपमा एक हजार जति उजुरी पाएका छौं भने इमेलमार्फत प्राप्त उजुरीको संख्या त्यस भन्दा बढी छ।”

उजुरीकर्ताहरुको विवरण संकलन गर्ने काम अहिले दूतावासले अघि बढाएको छ। प्रहरी रिपोर्ट सक्कली भए पनि, प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया पूरा गर्न नपाएको कारण उनीहरु ठगीको शिकार भएका छन्। राजदूत पौडेलका अनुसार, “रिपोर्टमा प्रयोग भएको दूतावासको छाप र हस्ताक्षर नक्कली भए पनि नेपाल प्रहरीबाट जारी रिपोर्ट सक्कली नै भएकोले हामीले आधिकारिक रूपमा पोर्चुगल सरकारलाई जानकारी गराएका छौं।”

पोर्चुगलमा रहेका आप्रवासी नेपालीहरुलाई कानुनी हैसियत दिने संस्था ‘एकीकरण, आप्रवासन तथा शरणार्थी निकाय (एआईएमए)’ले अस्थायी आवास अनुमति पत्र (TRC) का लागि आवेदन दिने क्रममा कागजात छानबिन गर्दा प्रहरी रिपोर्ट नक्कली फेला परेको हो। यस कारण त्यस्ता नेपालीहरुलाई देश छाड्न चेतावनी दिइएको छ।

उजुरीकर्ताहरुले यस प्रकरणले उनीहरुलाई ठूलो कानूनी समस्या निम्त्याएको बताएका छन्। नक्कली छाप र हस्ताक्षर भएको सक्कली प्रहरी रिपोर्ट पेश गर्दा, स्थानीय सरकारी निकायले सरकारी कागजपत्र दुरुपयोग र किर्ते गरेको आरोप लगाएको छ। पीडितहरुका अनुसार, “नक्कली छाप प्रयोग भएको भन्दै आप्रवासन निकायले हामीलाई ईमेलमार्फत सरकारी कागजपत्र किर्तेको मुद्दा लगाएको छ।”

सिन्धुपाल्चोकका दीपक नेपाल पनि यस घटनाबाट प्रभावित छन्। उनले भने, “मसँग मात्रै १५ सय जना भन्दा बढी सम्पर्कमा छन्। हामी ह्वाट्सएप ग्रुप बनाएर सामूहिक रूपमा समाधान खोज्ने प्रयास गरिरहेका छौं। हामीलाई नेपाली संघसंस्था, दूतावास र सरकारको सहयोग आवश्यक छ। हामी संगठित अपराधको शिकार भएका छौं।”

यसैबीच, धेरै नेपालीहरु लिस्बनस्थित राजदूतावास पुगेका छन्। उनीहरुले आफूहरुले कुनै कागजात किर्ते नगरेको दाबी गर्दै ठगीको शिकार भएको बताएका छन्। पीडितहरु दूतावासमार्फत सहजीकरण र मानवीय आधारमा पुनर्विचारको माग गर्दै आएका छन्।

बिहीवार, नेपाली राजदूतावासमा उजुरी दिने क्रममा उपस्थित प्युठानका बिनोद सुनारले आक्रोश व्यक्त गर्दै भने, “एनआरएन र नेपाली संघसंस्थाहरु केवल देउसी भैली खेल्न र तिजमा नाच्न मात्रै गठन भएको हो? दुई हजार भन्दा बढी नेपाली संकटमा छन्, तर तपाईंहरु चुपचाप हुनुहुन्छ?”

सुनारले थपे, “एनआरएनका पदाधिकारीहरुले मलाई धम्क्याएको थिए कि म यो विषय उठाउँदा राम्रो हुँदैन। हाम्रो समुदायका संघसंस्थाहरु प्रहरी रिपोर्टमा नक्कली छाप र हस्ताक्षर प्रयोग गर्ने अपराधमा पनि संलग्न छन्।”

नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्रमा पोर्चुगल र नेपाली दूतावासको नक्कली छाप प्रयोग भएको घटना कसरी भयो भन्नेबारे विस्तृत विवरण उपलब्ध छ। सन् २०२४ मा पोर्चुगलले अस्थायी आवास अनुमति पत्र (TRC) दिने नीति ल्याएपछि, नेपालीहरुले आफ्नो प्रहरी रिपोर्टलाई प्रमाणित गर्न दिल्ली वा पेरिस जानुपर्ने अवस्था थियो।

तर, अवैतनिक महावाणिज्यदूतको कार्यालय बन्द भएपछि, नेपाली राजदूतावास स्थापनासम्म १० महिनाको अवधिमा कागजात प्रमाणीकरण गर्न कुनै स्थानीय सुविधा उपलब्ध थिएन। यस अवसरलाई केही नेपाली र भारतीयहरूले व्यवसायिक रूपमा प्रयोग गरे। उनीहरुले फ्रान्स वा भारत पठाउनुपर्ने रिपोर्टलाई आफ्नो घरमै नक्कली छाप र हस्ताक्षर प्रयोग गरी बनाएका थिए।

स्रोतका अनुसार, दिल्ली पठाइने प्रहरी रिपोर्ट समेत दलालहरूले राजदूतावासमा नपुगाई भारतका होटलमा बसेर नक्कली प्रमाणपत्र बनाएका थिए। प्रतिव्यक्ति कम्तिमा दुई सय युरो लिएर उनीहरूले यो कागजात बनाउने काम गरे। यसमा संलग्न दुई नेपाली केही महिनाअघि पक्राउ परेका छन्।

बिनोद सुनारका अनुसार, नेपाली संघसंस्थाहरुले यस विषयमा वास्ता नगरेको खेदजनक अवस्था छ। उनले भने, “हामी यहाँ आएर हाम्रो आवाज उठाउँछौं, तर संघसंस्थाहरु केवल सांस्कृतिक र सामाजिक कार्यक्रममा मात्र केन्द्रित छन्।”

यस विषयमा नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले तत्काल छानबिनको निर्देशन दिएका छन्। उनले भने, “यो गम्भीर अपराधमा संलग्न एक जनालाई पनि नछोड्नुस्। तथ्य र जानकारी सार्वजनिक भइसकेका छन्, तत्काल प्रतिवेदन तयार गरी कानूनी कारबाही अघि बढाउनुस्।”

 पोर्चुगलमा रहेका नेपाली समुदाय हाल ठूलो कानूनी संकटमा छन्। दुई हजार भन्दा बढी नेपाली आप्रवासी आफ्नो कागजात प्रमाणीकरण प्रक्रियामा ठगीको शिकार भएका छन्। दूतावासले उजुरी संकलन गर्दैछ भने सरकारले छानबिन र कानूनी कारबाही अघि बढाउने तयारी गरिरहेको छ। यस घटनाले नेपाली समुदायमा विश्वास संकट निम्त्याएको छ र कानूनी सुरक्षा तथा मानवीय सहजीकरणको आवश्यकता देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
3 घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

छुटाउनुभयो कि ?

TOP