पशुपति देवपतन । पुस महिनामा पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा नेपाली सनातन संस्कृतिको एक विशिष्ट र रहस्यमय परम्परा हो। यस पूजाको मुख्य आकर्षण भगवान् शिवलाई अर्पण गरिने विशेष खिचडी महाभोग हो, जसले धर्म, ऋतु र मानव स्वास्थ्यबीचको गहिरो सम्बन्ध उजागर गर्छ।
धनुर्मास भन्नाले सूर्य धनु राशिमा प्रवेश गरेको समयलाई जनाइन्छ। शास्त्रीय मान्यताअनुसार यो अवधि देवताहरूको ब्रह्ममुहूर्त मानिन्छ, जसका कारण यस समयमा गरिने पूजा, जप र साधनालाई विशेष फलदायी ठानिन्छ। यही विश्वासका आधारमा पशुपतिनाथमा धनुर्मास पूजा ब्रह्ममुहूर्तमै सम्पन्न गर्ने चलन रहिआएको छ।
यस वर्ष नेपाल संवत् ११४६ अनुसार पोहेलाथ्व पञ्चमीमा पूजाको तयारी पूरा गरी षष्ठीको दिन बिहान सबेरै ब्रह्ममुहूर्तमा विशेष पूजा गरिँदैछ। आदि कलश पूजा र पञ्चामृत अभिषेकपछि भगवान् पशुपतिनाथको शृङ्गार गरिन्छ र बालभोग अर्पण गरिन्छ। त्यसपछि मुख्य खिचडी महाभोग लगाइन्छ, जुन पूजाको सबैभन्दा महत्वपूर्ण अंश मानिन्छ।
खिचडीलाई महाभोगका रूपमा चढाइनु केवल धार्मिक मान्यता मात्र होइन, यसमा वैज्ञानिक सन्देश पनि निहित छ। पुसको कठ्यांग्रिने जाडोमा शरीरलाई न्यानो राख्ने, पाचन प्रणालीलाई सुदृढ बनाउने र आवश्यक ऊर्जा प्रदान गर्ने गुण खिचडीमा पाइन्छ। विभिन्न गेडागुडी, दाल, चामल र घिउको संयोजनले सन्तुलित पोषण दिने भएकाले प्राचीन समाजले यसलाई मौसमअनुकूल आहारका रूपमा देवतासँग जोडेको देखिन्छ।
खिचडी महाभोग अर्पण गर्दा मन्दिरका चारै ढोका बन्द गरिन्छ। यसलाई गुप्त महाभोग भनिन्छ, जसले वैराग्य, एकान्त साधना र आध्यात्मिक अनुशासनको प्रतीकात्मक अर्थ बोकेको छ। यसै अवसरमा पशुपतिनाथ क्षेत्रका वासुकी नागराजलाई पनि अमालकोट कचहरीको तर्फबाट खिचडी भोग अर्पण गर्ने परम्परा कायम छ।
धार्मिक किंवदन्तीअनुसार तातो र पोषिलो खिचडी ग्रहण गरेपछि भगवान् शिव घाम ताप्न कैलाश वा शिवपुरी डाँडातर्फ जानुहुने विश्वास गरिन्छ। यही मान्यताका कारण धनुर्मास पूजापछि पशुपतिनाथ मन्दिर दिनभर बन्द रहने प्राचीन चलन रहिआएको कुरा बरिस्ठ अधिबक्ता गणेश केसिले बताए।
धनुर्मास पूजाको साइत मूल भट्ट बाजेले चन्द्र, सूर्य र नक्षत्रको गणना गरी निर्धारण गर्नुहुन्छ। पूजाका लागि आवश्यक सम्पूर्ण सामग्री ऐतिहासिक रूपमा अमालकोट कचहरीबाट व्यवस्थापन हुँदै आएको छ। यस प्रक्रियामा भण्डार तहबिलका नाइके, द्वारे, तालुकदार र रैरकमिहरूको महत्वपूर्ण भूमिका रहन्छ।
धनुर्मास पूजा धर्मको नाममा गरिने कर्मकाण्ड मात्र होइन, प्रकृतिसँग तालमेल मिलाएर बाँच्ने जीवनदर्शनको अभ्यास पनि हो। पुसको चिसो मौसममा शरीरलाई जोगाउने, सन्तुलित भोजन गर्ने र आत्मचिन्तनमा समय दिने सन्देश बोकेको यो परम्परा पशुपतिनाथसँग जोडिएर आज पनि उत्तिकै जीवन्त रूपमा कायम छ।
यसै सन्दर्भमा माघ १ गते मकर संक्रान्तिका दिन पनि पशुपतिनाथलाई विशेष खिचडी भोग अर्पण गर्ने परम्परा रहेको छ, जसले ऋतु परिवर्तनसँगै शरीर र मनलाई तयार पार्ने सांस्कृतिक चेतनालाई निरन्तरता दिन्छ।
बैदेशिक रोजगारीमा कमै चर्चा हुने बिषय मध्येको एउटा हो बैदेशिक रोजगारीमा रहेकाहरुको स्वास्थ्य अवस्था ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!