पशुपति देवपत्तनमा गथांमुग: ख्या: लाई चौरासी बेञ्जन खुवाएर नदीमा विसर्जन, बनकाली पूजा र भूत पन्छाउने परम्परा

पशुपति देवपत्तनमा गथांमुग: ख्या: लाई चौरासी बेञ्जन खुवाएर नदीमा विसर्जन, बनकाली पूजा र भूत पन्छाउने परम्परा

काठमाडौं, साउन ८ — नेवा: समुदायले साउन महिनाको चतुर्दशीका दिन मनाउने तान्त्रिक महत्वको पर्व गथांमुग: चह्रे (घण्टाकर्ण चतुर्दशी) पशुपति देवपत्तन क्षेत्रमा बुधबार विशेष रूपमा सम्पन्न भएको छ। सायंकाल पशुपति चौरमा तयार पारिएको गथांमुग: ख्या: अर्थात् त्रिखुट्टे भूत आकृतिलाई चौरासी प्रकारका परिकार (बेञ्जन) खुवाइएपछि विधिपूर्वक पूजा गरी नदीमा विसर्जन गरिएको हो।

जात्रा विज्ञ श्रीकृष्ण डंगोलका अनुसार, गथांमुग: पर्व नेवा: तान्त्रिक संस्कृति र भूतप्रेत नियन्त्रणको ऐतिहासिक ज्ञानसँग प्रत्यक्ष सम्बन्धित छ। “परापूर्वकालमा रोपाइँको व्यस्त समयमा जनशक्ति अभाव हुँदा नेवार तान्त्रिकहरूले भूतप्रेतलाई काममा लगाउने अभ्यास गर्थे। तर ती भूतप्रेत बसी नसक्नु भयावह भएपछि, विशेष विधिबाट नगरबाट भगाइएको सम्झनामा आज पनि यो पर्व मनाइन्छ,” डंगोलले बताए।

यस पर्वमा पशुपति क्षेत्रका नेवार समुदायले नर्कट बाँस, पराल, कपडा ,बास , पराल ,हाडी , नाङलो  आदिबाट बनाइएको त्रिखुट्टे गथांमुग: ख्या: लाई स्थानीय चौबाटोमा ठड्याउने पुरातन प्रथा अनुसार साँझपख पूजा गरी विसर्जन गरिन्छ। त्यस अवसरमा घरघरमा धूपधूवाँ, आगो घुमाउने र ढोका–झ्यालमा फलामका औजार टाँस्ने परम्परा समेत पालना गरिन्छ।

गथांमुग: च:ह्रेको दिन बनकाली पर्व पनि विशेष तान्त्रिक विधिबाट पशुपति देवपत्तनमा मनाइन्छ। यस अवसरमा नगरको सुरक्षाका लागि बनकाली देवीको आराधना गरिन्छ। गुठी संस्थान, शाखा कार्यालय पशुपतिको समन्वयमा श्रेष्ठा मार्फत चार धार्नी तौलको भेडाको बलि दिइन्छ। बनकाली देवीलाई नगरका तान्त्रिक शक्तिहरूको संरक्षक मानिने भएकाले यस दिन गुप्त पूजा र बलिसहित तन्त्रसम्बन्धी विधिहरू पालना गरिन्छ। बनकाली पूजा मार्फत नगरबाट नकारात्मक ऊर्जा, प्रेतबाधा र महामारी हटाउने विश्वास गरिन्छ।

पशुपति देवपत्तन क्षेत्रमा यस वर्षको गथांमुग: पर्वमा स्थानीयवासी, पुरोहित वर्ग र जात्रामा संलग्न युवा समूहहरूको उल्लेख्य सहभागिता देखिएको छ। विशेषगरी, गुँला महिना, लाखे नाच, गाईजात्रा, इन्द्रजात्रा लगायत आगामी जात्राहरूको औपचारिक सुरुवातका रूपमा समेत गथांमुग: च:ह्रेलाई हेरिन्छ।

यो पर्व नेवार समुदायको तान्त्रिक परम्परा, आध्यात्मिक जागरण र सांस्कृतिक संरक्षणको अद्वितीय प्रतीक भएको जात्रा विज्ञहरू बताउँछन्।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डेढ करोड ऋण दिएर पाँच करोड असुली, कार कब्जापछि पक्राउ परे कविराज
6 महिना अगाडि

काठमाडौं – अनुचित लेनदेन (मिटरब्याज) प्रकरणमा शारीरिक सुगठनका खेलाडीसमेत रहेका कविराज कटुवाल प ...

छुटाउनुभयो कि ?

TOP