वासिङ्टन डीसी / तेहरान, असार ८ —अमेरिकाले शनिबार राति इरानमाथि प्रत्यक्ष हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्दै अमेरिकी सेनाले इरानका तीनवटा प्रमुख आणविक साइटहरूमा ‘ठोस र निर्णायक’ आक्रमण सम्पन्न गरेको पुष्टि गरेका छन्। अमेरिकी हस्तक्षेपसँगै इजरायल–इरान युद्ध अन्तर्राष्ट्रिय स्तरमा फैलिन सक्ने जोखिम बढेको छ।
ट्रम्पका अनुसार फोर्डो, नातान्ज र इस्फहानमा रहेका इरानी आणविक केन्द्रहरूमा स्टेल्थ बमवर्षक विमानमार्फत उच्च क्षमतायुक्त बंकर बस्टर बम प्रहार गरिएको हो। उनका अनुसार सबै अमेरिकी विमानहरू सफलतापूर्वक इरानको हवाई सीमाबाट बाहिरिइसकेका छन्।
“हाम्रा सेनाले असाधारण सफलता प्राप्त गरेका छन्। अब शान्तिको मार्ग खोलिएको छ,” ट्रम्पले भने। उनले फोर्डो साइटमा पूर्ण बम आक्रमण गरिएको खुलासा गरेका छन्।
इरानी सञ्चारमाध्यमले तीनै साइटमा व्यापक क्षति भएको र आन्तरिक सुरक्षा तयारी सतर्क बनाइएको जानकारी दिएका छन्। इरानको सर्वोच्च नेता अयातोल्ला अली खामेनीले अमेरिकालाई "प्रत्यक्ष युद्धको घोषणा" भनेर व्याख्या गर्दै कडा बदला लिने चेतावनी दिएका छन्।
“यो युद्ध हो। अब हामी पनि चुप बस्दैनौं,” खामेनीको भनाइ इरानी टेलिभिजनले उद्धृत गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुटेरेसले आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्पूर्ण पक्षलाई तत्काल संयमता र संवादमा फर्कन आह्वान गरेका छन्। उनले भने, “मध्यपूर्वको स्थायित्व खतरा ग्रस्त छ।”
यसैबीच, अमेरिकी कंग्रेसमा राष्ट्रपति ट्रम्पको एकल निर्णयलाई लिएर तीव्र विवाद उत्पन्न भएको छ। रिपब्लिकन नेताहरूले राष्ट्रको सुरक्षाको पक्षमा आक्रमणलाई समर्थन गरेका छन् भने डेमोक्र्याटहरू र केही स्वतन्त्र सांसदहरूले कंग्रेसलाई बेवास्ता गर्दै गरिएको निर्णयलाई असंवैधानिक ठहर गरेका छन्। सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले ट्वीटरमार्फत भनेकी छन्, “ट्रम्पले अमेरिकालाई अर्को युद्धमा धकेलेका छन्। हामी यो कदमलाई समर्थन गर्न सक्दैनौं।”
गत साता इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि शुरू भएको द्वन्द्वमा हालसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको छ भने २,००० भन्दा बढी घाइते भएका छन्। इजरायलमा २४ जनाको मृत्यु र ९०० बढी घाइते भएको विवरण सार्वजनिक भएको छ।
आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ९ प्रतिशतले उकालो लागेको छ। चीन, रूस, भारत लगायतका देशहरूले तत्काल युद्ध रोकी कूटनीतिक समाधान खोज्न दुवै पक्षलाई दबाब दिइरहेका छन्।
ट्रम्प अहिले वासिङ्टन डीसीमा राष्ट्रिय सुरक्षा टोलीसँग आकस्मिक बैठकमा सहभागी छन्। अमेरिकी प्रशासनले इरानको सम्भावित जवाफलाई मध्यनजर गर्दै पश्चिम एसियाली क्षेत्रमा थप सैन्य तयारी सुरु गरिसकेको छ।
स्थिति नियन्त्रणबाहिर जान नदिन विश्व शक्तिहरूको भूमिकालाई निर्णायक मानिएको छ। तर हालको अवस्था हेर्दा इरान–इजरायल युद्धमा अमेरिकी संलग्नता मध्यपूर्व मात्र होइन, सम्पूर्ण विश्वका लागि खतरनाक मोड बन्ने देखिएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया