काठमाडौं । पशुपति क्षेत्रको देउपाटनमा प्राचीन सांस्कृतिक पर्व मचा तियाँ जात्रा बिहीबार साँझ सम्पन्न भएको छ। करिब साँझ ४ बजेदेखि सुरु भएको यो जात्रा तान्त्रिक विधि, ऐतिहासिक जनश्रुति र स्थानीय परम्पराको संरक्षणस्वरूप वर्षौंदेखि निरन्तर चलिआएको छ।
स्थानीय जात्रा विज्ञ श्रीकृष्ण डङ्गोलका अनुसार मचा तियाँ जात्रा पशुपति क्षेत्रको एक विशेष ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि बोकेको पर्व हो।
नेपाल संवतको तछलागा, भलाष्टमी र भलभल अष्टमीका अवसरमा ग्वल:देयमा बसोबास गर्ने नेवार समुदायले यो जात्रा विशेष श्रद्धा र विधिपूर्वक मनाउँदै आएका छन्।
जात्राको उत्पत्तिबारे विभिन्न जनश्रुति छन्। कतिपय वंशावलीले लिच्छवी राजा नरेन्द्रदेवको पालामा जात्राको सुरुवात भएको बताउँछन् भने केहीले मल्ल राजा अमर मल्ल वा यक्ष मल्लसँग जोड्छन्।
एक प्रसिद्ध कथन अनुसार, जामाचो डाँडामा बसोबास गर्ने राक्षसहरू देउपाटनमा बालबालिका अपहरण गर्न आउँथे। स्थानीयहरूले प्रतिकार गर्दै एक राक्षस शिशुलाई मारेर डाँडाबाट देखाइदिएपछि ती राक्षसहरू भागे। सोही सम्झनामा यो जात्रा सुरु भएको भनिन्छ।
अर्को मार्मिक कथन अनुसार, भुवनेश्वरीका पुजारी भूमि आचाजुले अन्जानमै आफ्नै छोराको बलि दिएका थिए। अमृत लिएर जीवन फर्काउन निस्किएका उनले छोराको दाहसंस्कार भइसकेको थाहा पाएपछि अमृत पोखिदिए। जनविश्वास अनुसार, अमृत पोखिएको ठाउँमा दुबो अजम्बरी भयो र कागले खाएकाले काग पनि अजर-अमर भयो।
जात्रामा नौ जना कुमार–कुमारीहरूलाई नौ प्रकारका रथमा राखी, तान्त्रिक विधिबाट पूजाआजा गरी इशानेश्वरी महादेवको प्रदक्षिणा गराइन्छ। परिक्रमा अवधिभर ग्वल:देय क्षेत्रका बासिन्दाले काठमाडौँ भित्री शहरका केही नेवार समुदायप्रति गालीगलौज गर्ने चलन पनि जात्रासँगै रहिआएको पाइन्छ, जुन एक ऐतिहासिक कथनसँग सम्बन्धित छ।
मचा तियाँ जात्रा धार्मिक, सांस्कृतिक र सामाजिक पक्ष समेटिएको जीवित परम्परा हो, जसले पुस्ता दरपुस्ता नेपाली समाजको गहिरो धार्मिक चेतना र ऐतिहासिक स्मरणलाई जीवित राखिरहेको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया