२४ वसन्त हराए बुबा,
तपाईँ अस्ताएको त्यो दिनदेखि —
आकाशले शून्यता ओढेको थियो,
र मसँग केवल तपाईँको नाम मात्रै बाँकी थियो।
त्यो दिन २०५८ जेठ १९ गतेको थियो।
तपाईँले हिँडाएको बाटो थियो मेरो आरम्भ,
तपाईँले रोपेको मूल्य थियो मेरो मेरुदण्ड,
साना खुट्टामा तपाईँले बाँधेका सपना,
आज पनि टुप्लुक्क हिडिरहेछन्, समयको तीव्र धारमा।
तपाईँ बिना, म धेरैपटक थिचिए, हेपिए र चिप्लिएँ,
तर हरेक पटक हजुरको आशीर्वादले सम्हालिएँ —
तपाईँले सानोमा सिकाएको एउटा शब्द सम्झेर —
"नडराऊ, छोरा, दुःख र वचन पनि आशीर्वाद हुन्छ कहिलेकाहीँ।"
बुबा,
आज म उभिएको छु —
तपाईँले कहिल्यै देख्न नपाएको शिखरमा,
तर त्यो शिखरभन्दा गहिरो रिक्तता छ यहाँ —
किनभने तपाईँ हुनुहुन्न,
मेरो आँखामा सिउँदोको गर्व हेर्न।
कहिलेकाहीँ लाग्छ —
यदि तपाईँ एकदिन ढिलो जानु भएको भए,
म देखाउँथें हजुरलाई मेरो पहिलो कविता,
मेरो हित नचाहनेहरूको आक्रमकता,
मेरो संघर्षको पहिलो पुरस्कार,
मेरो आँखाभित्र उर्लेको आभार।
तर हजुर त चाँडै जानुभयो—
कर्मको कथा अधूरै छोडेर,
यी आँखालाई कहिल्यै नसुक्ने नदीको मुहान बनाएर,
र म बाँकी कथा लेखिरहेछु आज पनि,
तपाईँको नामको अक्षर–अक्षर जोडेर।
मलाई थाहा छ —
यो संसारका आँखाबाट हजुर टाढा हुनुहुन्छ,
तर मेरो अन्तरात्माबाट कहिल्यै हट्नु भएन।
हामी बीचको संवाद अब मौनताले बोकेको छ,
तर त्यो मौनता नै मेरो सबैभन्दा ठूलो प्रेरणा बनेको छ ।
बुबा,
मेरो हरेक उपलब्धि तपाईँलाई समर्पित छ —
यद्यपि त्यो देखाउन सकिनँ,
हजुरलाई अँगाल्न सकिनँ सफलताको उज्यालोमा,
तर हरेक विजय कर्मको शिरमा,
तपाईँ नै मुकुट भएर चम्किरहनुभएको छ ।
यो जीवन — तपाईँले थालेर अधूरो छाडेको कथा हो,
र म त्यो कथालाई पूर्ण बनाउन लेखिरहेछु —
तपाईँलाई समर्पित हरेक श्वासमा,
चोप्दै कलम हरेक चुपचाप बहने आँसुमा।
श्रद्धा, अश्रु र आत्मिक प्रेमसहित —
तपाईँ बिना यहाँसम्म ल्याइदिने तपाईँलाई,
मेरो अधुरो अर्पण।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया