सबै मान्छेको अनुहार हुदैमा सबै मान्छे, मान्छे हुँदैनन्

हरेक दिन हामी अनगिन्ती अनुहारहरूसँग भेट्छौँ। तीमध्ये कतिपय हसिला हुन्छन्, केही गम्भीर, केही आकर्षक अनि केही अलिकति डर लाग्दो खालका। तर अनुहारले मात्र मान्छेको मूल्यांकन गर्न सकिँदैन। अनुहार त सबैसँग हुन्छ, तर सबै मान्छेभित्र मानवीयता हुँदैन। मान्छे हुनु भनेको केवल रूप, बोली वा चालचलन होइन; त्यो त विवेक, मूल्य र संवेदनाको समुच्चय हो। आजको समाजमा अनुहार र बोलीको मोहमा परी मानिसहरूले आत्मघातजस्तो सम्बन्धहरू गाँसिरहेका छन्। यथार्थ बुझ्न ढिला हुँदा धेरैले धोका खेप्नुपरेको छ।

इज्जतिलो मान्छेले सधैं आफ्ना सीमाहरू बुझ्दछ। ऊ सबैसँग नजिकिँदैन, सबैसँग आत्मीयता देखाउँदैन। बोल्न जान्दछ, तर कहिले बोल्ने ,कहाँ बोल्ने , कोसँग बोल्ने र कतिसम्म बोल्ने भन्ने विवेक पनि राख्दछ। यस्ता व्यक्तिहरूले आफ्नो इज्जत आफैं जोगाउँछन्। उनीहरू अरूलाई अपमान नगरी, आफूलाई मर्यादामा राखेर व्यवहार गर्छन्। तर समाजमा यस्ता व्यक्तिहरू सधैं खुलेर नबोल्ने, कम बोल्ने हुँदा प्राय: गलत बुझिने पनि गर्छन्। उनीहरूलाई घमण्डी भन्नेहरू पनि हुन्छन्, तर उनीहरूको मौनताभित्र लुकेको अनुभव र आत्मरक्षा शक्तिशाली हुन्छ।

आजको सामाजिक परिवेश, विशेषगरी डिजिटल युगमा, जहाँ एक क्लिकले अपरिचितहरू पनि "मित्र" बन्छन्, त्यहाँ अनुहारको पछि लागेर सम्बन्ध बनाउनु मूर्खता हुन सक्छ। सामाजिक सञ्जालमा चिनजान हुँदा हामी पहिले अनुहार हेर्छौं, प्रोफाइल हेर्छौं, अनि सन्देश पठाउँछौं। केही दिनभित्रै सम्बन्ध गहिरिन्छ, तर त्यसको आधार प्राय: भ्रममा हुन्छ। यस्ता सम्बन्धहरू झूट, स्वार्थ र अवसरवादमा आधारित हुन्छन्। खास उद्देश्य पूरा भएपछि ती मानिसहरू हराउँछन्— अनि बाँकी रहन्छ, केवल पछुतो।

यस्ता अनुभव विशेष गरी महिलाहरूले धेरै भोग्ने गरेका छन्। “सञ्चार” को नाममा भएको संवादमा यस्ता व्यक्ति खासगरी महिलाको व्यक्तिगत विवरण थाहा पाउन आतुर देखिन्छन्— तपाईं कहाँ बस्नुहुन्छ? मोबाइल नम्बर के हो? कति उमेर भयो? तपाईं एक्लै हुनुहुन्छ? आदि आदि। जब उनीहरूबाट सोधिन्छ— “तपाईं कहाँको हो?” उनीहरू मौन हुन्छन् वा गुम्सिएको जवाफ दिन्छन्। यस्ता व्यवहार निःस्वार्थ हुँदैनन्। अनुहार देखेर भरोसा गर्नु भन्दा व्यवहार हेरेर भरोसा गर्नु बुद्धिमानी हो।

हामी सबैले आफ्नो जीवनमा एक न एकपटक यस्तो अनुभव गरेका हुन्छौँ— कुनै मान्छेले सुरुमा अत्यन्त मिठा बोलीमा आफूलाई आकर्षित गर्छ, सहानुभूति देखाउँछ, आत्मीयता बनाउँछ। तर पछि थाहा हुन्छ— ती सबै स्वार्थी अभिनय थिए। अनुहारले देखिएको माया, आँखाले देखाएको अपनत्व, केही दिनपछि हराउँछ। त्यस्तो अवस्थामा हामी आफैंलाई प्रश्न गर्छौँ— किन विश्वास गरियो? किन बोलियो? किन जानकारी दिइयो?

यस्तो गल्ती नहोस् भन्नकै लागि विवेक प्रयोग गर्नुपर्छ। सम्बन्ध गाँस्नुअघि सोच्नुपर्छ। हरेक बोल्ने मानिस असल हुँदैन। केही चुपचाप रहनेहरू भित्रबाट अत्यन्तै इमानदार र इज्जतदार हुन्छन्। तर बोल्नेहरूले प्राय: हल्ला धेरै गर्छन्, व्यवहार कम। त्यसैले हामीले कसैसँग बोल्दा, जानकारी बाँड्दा, वा आत्मीयता देखाउँदा सीमितता अपनाउनुपर्छ। कसैको बोलीमा नफसौं, उसको नियत बुझ्न सिकौं।

हामी नेपाली समाजमा अझै पनि “शिष्टता” लाई कमजोरी ठानिन्छ। धेरै बोल्ने, बारम्बार सन्देश पठाउने, अनावश्यक बोल्न नछाड्नेहरूलाई “मिठो स्वभावको” ठानिन्छ। तर यथार्थमा यस्तो व्यवहार घातक पनि हुन सक्छ। तपाईंको जीवनशैली, ठेगाना, सम्पर्क नम्बर, तपाईंको व्यक्तिगत तस्बिर— यिनै आधारमा तपाईंमाथि खेल्न खोज्नेहरू धेरै छन्। त्यसैले कुनैपनि नयाँ अनुहारसँग सम्बन्ध गाँस्दा समय लिनुहोस्। साँचो मान्छे त समयमै आफैं प्रमाणित हुन्छ। उसले झुटो कुरा गर्दैन, नजिकिन हतार गर्दैन, अनि अनावश्यक व्यक्तिगत कुरा जान्न पनि चाहँदैन।

अर्कोतर्फ, इज्जत पनि एउटा साँच्चिकै महत्वपूर्ण मूल्य हो, जुन अरूको व्यवहारले होइन, आफ्नै विवेकले जोगाउनुपर्छ। इज्जतिलो मान्छेले सबैसँग बोल्दैन, किनकि उसलाई थाहा हुन्छ— सबैकुरा सबैसँग भन्नु उपयुक्त हुँदैन। कतिपय कुरा परिवारसम्म सीमित हुनुपर्छ, कतिपय कुरा आफूसम्म मात्र राख्नुपर्छ। सबैले बुझ्ने र साथ दिने हैसियत हुँदैन। त्यसैले विवेकपूर्ण मौनता, सीमित संवाद, र आन्तरिक सचेतनाले मात्रै इज्जत सुरक्षित रहन्छ।

अन्त्यमा, अनुहार हेरेर विश्वास गर्न छाडौँ। व्यवहार हेरेर सम्बन्ध बनाऔं। विश्वास गर्नु नराम्रो होइन, तर अन्धविश्वास गर्नु खतरा हो। सम्बन्ध बनाउनु असल कुरा हो, तर विवेकसहित बनाउनु बुद्धिमत्ता हो। इज्जत कसैले दिँदैन— त्यसको रक्षक हाम्रै सोच, बोली र सीमितता हो। त्यसैले, सबै मान्छे अनुहार लिएर हिँड्दा पनि मान्छे हुन सक्दैनन्, जबसम्म उनीहरूको हृदय, सोच, नियत, व्यवहार, र विवेक मान्छेले जस्तो हुँदैन।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP