धिमे बज्यो, लाखे नाच्यो, रथ तान्दै फेरि उठ्यो टोखा"

धिमे बज्यो, लाखे नाच्यो, रथ तान्दै फेरि उठ्यो टोखा"

टोखा – एक ऐतिहासिक शहर, जहाँ प्रत्येक ढुङ्गा, प्रत्येक गल्ली र प्रत्येक आँखा कुनै न कुनै कथा सुनाइरहेको हुन्छ। यो शहरका गल्लीहरू बोल्दैनन्, तर जब वैशाख लाग्छ, जब चिसो हावासँगै धिमेबाजाको ताल बग्छ, जब सहरको लय फेरिन्छ, तब यी गल्लीहरूले बोलेको सुन्न सकिन्छ—“जात्रा आएको छ।”

टोखा जात्रा—यो केवल एउटा धार्मिक अनुष्ठान होइन, यो एक जीवन्त दस्तावेज हो। एक पुस्ताबाट अर्को पुस्तासम्म हृदयको धरोहर बनेर सरेको त्यो परम्परा, जसले धर्म मात्र होइन, संस्कृति, एकता, पहिचान र भावनालाई समेत समेटेको छ।

बिहानैदेखि मानिसहरू आ-आफ्ना घरका आँगन झाडीपखाली गरिरहेका थिए। धूपको मुस्कानसहित तुलसीको चौतारो सजिँदै थियो। गगनचुम्बी आधुनिक संरचनाबीच पुराना घरहरू, पुराना पर्खालहरू, र थकित देखिने तर अझै पनि गर्वले उभिएका ती देवालयहरू फेरि जागिरहेका थिए।

नानीहरू लुगा फेरेर झ्यालबाट हेर्दै थिए, युवाहरू मोबाइलमा जात्राको क्षण क्याप्चर गर्दै थिए, तर बृद्धबृद्धा भने मौन थिए—शायद सम्झनाको भारी बोकेर। कसैले आँखा चिम्लिएर बाजेको साथमा देखेको रथ सम्झिरहेका थिए, कसैले नवदुर्गाको नाच।

टोखाको जात्राले स्मृतिलाई मात्र होइन, समयलाई पनि बाँध्न सक्ने सामर्थ्य राख्छ।

रथ तान्ने बेला आयो। हातमा डोरी समाउँदै हरेक उमेरका मानिसहरूले रथसँग आत्मीयता बाँडे। त्यो डोरी केवल रथ तान्न प्रयोग भएको थिएन, त्यो डोरीले शहरको आत्मा, भावनाको लय, र परम्पराको सूत्रलाई बाँधेको थियो। रथ अगाडि बढ्दा, साथमा बढ्थ्यो एकताको गति।

रथभन्दा अघि अघि लाखे नाचिरहेको थियो। मुखमा राग, आँखामा आगो, र चालमा ऊर्जा। त्यसको पछि नवदुर्गाको झाँकी, सिङ्गारिएका नानीहरू, धिमे र पुंगाको तालमा थिरकिरहेका स्थानीय युवायुवतीहरू। सबैजना सहभागी थिए—धर्म, जात, वर्ग, लिंगभन्दा माथि उठेर, केवल “टोखाली” बनेर।

टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ जात्राको व्यवस्थापनमा दिनरात खटिएका थिए। जात्राकै बीचमा उहाँलाई भेट्दा उहाँको अनुहारमा थकान थिएन, थिए त गर्व र समर्पणका रेखाहरू।
“यो जात्रा केवल एक धार्मिक कार्य होइन,” उहाँ भावुक हुँदै भन्नुहुन्थ्यो, “हाम्रो संस्कृतिको मेरुदण्ड हो। हामी नयाँ पुस्तालाई पुरानो गौरव हस्तान्तरण गर्दैछौं। जनसहभागितामै यसको सार छ। वडाले व्यवस्थापन, सरसफाइ, सुरक्षा सबैमा चासो दिएको छ।”

उहाँका शब्दहरूमा मात्र होइन, व्यवहारमा पनि प्रतिबद्धता देखिन्थ्यो।

धर्म, संस्कृति र परम्परालाई जीवित राख्न केवल श्रद्धा भए पुग्दैन, चाहिन्छ सक्रियता, सहकार्य र समर्पण। त्यो टोखामा देखिन्थ्यो—पुजारीका मन्त्रमा, युवाका हातमा, वृद्धाका आँखामा।

एकछिनका लागि लाग्थ्यो—टोखा फेरि आफ्नै अतीतमा फर्किएको छ। आधुनिकतासँग लड्दै गरेको शहर होइन, संस्कृति बोकेको एउटा सजीव पुस्तक। जहाँ हरेक जात्राले एउटा अध्याय थप्छ, हरेक बाजाले एउटा गाथा सुनाउँछ, र हरेक सहभागीले एउटा सम्झना निर्माण गर्छ।

टोखा जात्राले देखायो—संस्कृति लोप हुँदैन, यदि त्यसलाई मनले बोकिन्छ भने। रथका पाङ्ग्राले मात्र होइन, समर्पित मनहरूले परम्परालाई अगाडि बढाउँछ।

शहरको सास फेरिएको थियो, ढुंगाका सडकहरू फेरि गुनगुनाउन थालेका थिए—“हामी अझै बाँकी छौं। हामी अझै जिउँदा छौं।”

टोखा जात्राले केवल रथ तानेन, उसले मन तानेर देखायो—एकताको, आस्थाको, गहिरो संस्कृति–मायाको।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP