श्रीगण्डकी कोटिहोम क्षेत्र तथा आसपासमा शनिबार बृहत सरसफाइ गरिँदै

पोखरा, कास्की । ऐतिहासिक तथा धार्मिक कार्यक्रम ‘श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८१’ को पूर्वसन्ध्यामा बृहत सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ। मानव सेवा फाउन्डेसनको आयोजनामा आउँदो शनिबार, चैत्र ३० गते बिहान ७ बजेदेखि पोखरा–१५ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्र र श्रीगण्डकी कोटिहोम यज्ञस्थल वरपर सफाइ अभियान चलाइनेछ।

कार्यक्रमका प्रचार–प्रसार संयोजक लेखराज ढकालका अनुसार सरसफाइ अभियान अन्तर्गत सडक छेउका फोहोर, प्लास्टिकजन्य वस्तु, झारपात तथा मन्दिर क्षेत्रको सफाइ, फोहोर संकलन र व्यवस्थापन गरिनेछ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिले धार्मिक कार्य पूजापाठमा मात्र सीमित हुनु नहुने बताउँदै सरसफाइले समाजमा स्वच्छता, नैतिकता र धार्मिक सचेतना फैलाउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, यज्ञस्थलको पवित्रता र वातावरणीय सौन्दर्यका लागि यो अभियान एक शुभ थालनी हुनेछ।

यस अभियानमा स्थानीयवासी, सामाजिक संस्था, युवासंघ, धर्मप्रेमी समुदाय, विद्यार्थी, महिला समूह, वृद्धवृद्धा र स्वयंसेवकहरूको सहभागिता अपेक्षा गरिएको छ। कार्यक्रममा सामूहिक प्रार्थना, भजन, र धर्मशिक्षाजस्ता क्रियाकलापहरू पनि समावेश गरिने छन्।

कोटीहोम कार्यक्रम अन्तर्गत ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर सहभागी हुन फाउन्डेसनले आह्वान गरेको छ।

वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सुरु हुने जानकारी दिइएको छ। त्यसअघि चैत्र २९ गतेदेखि सुश्री अनुराधा पाण्डेयले श्रीमद्भागवत कथा प्रवचन सुरु गरिसकेकी छिन् भने देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत प्रवचनकर्ता कथावाचनमा सहभागी हुनेछन्।

कोटीहोम वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र वरपरको स्थानमा सञ्चालन गरिनेछ।

यस विराट महायज्ञमा श्रीमद्भागवत कथा, रामकथा, शिवमहापुराण, हनुमत कथा, श्रीमद्देवी भागवत कथा वाचन, लाखौँको विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सयभन्दा बढी ब्राह्मणको उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण, एक करोड शिवलिङ्ग स्थापना, एक करोड बेलपत्रद्वारा पुजनजस्ता विशेष गतिविधिहरू सञ्चालन हुनेछन्।

महायज्ञलाई भव्य बनाउन राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संस्थाहरूको सम्मेलन, ११ हजार कलश पूजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजारभन्दा बढी स्रष्टा सम्मान, शालिग्राम पूजा, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वत निर्माण, वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रमको आयोजना गरिने भएको छ।

यस विराट धार्मिक आयोजनालाई व्यवस्थित र प्रभावकारी बनाउन आठ वटा समिति गठन गरिएका छन्। जसमा मार्गनिर्देशन मण्डल, प्रमुख संरक्षक समिति, वरिष्ठ संरक्षक समिति, वरिष्ठ सल्लाहकार समिति, सल्लाहकार समिति, मूल आयोजक समिति, कानूनी सल्लाहकार समिति छन्।

साथै ५१०१ सदस्यीय महायज्ञ मूल आयोजक समिति पनि गठन गरिएको छ, जसमा संयोजक, उपसंयोजक, वरिष्ठ सदस्य, विशेष सदस्य र सदस्यहरू समावेश छन्। महायज्ञको तयारी तीव्र गतिमा अघि बढिरहेको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP