मौसमी रोगको संक्रमण तीव्र, अस्पतालहरूमा बिरामीको भीड

काठमाडौं, २५ चैत्र  — पछिल्लो केही सातादेखि मौसममा आएको उतारचढावसँगै देशभर मौसमी रोगको संक्रमण तीव्र भएको छ। राजधानी काठमाडौंसहित देशका प्रमुख सहरहरूमा रुघाखोकी, भाइरल ज्वरो, टाइफाइड, एलर्जी र पखालाजस्ता लक्षण लिएर आउने बिरामीहरूको संख्या दिनहुँ बढिरहेको अस्पताल स्रोतले जनाएको छ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूमा संक्रमणको जोखिम उच्च देखिएको छ। वीर अस्पताल ,त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, कीर्तिपुर अस्पताललगायतका स्वास्थ्य संस्थाहरूमा दैनिक दर्जनौं बिरामी स्वास्थ्य परीक्षणका लागि पुग्ने गरेका छन्। त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. रमेश काफ्लेका अनुसार, "अहिले आउनेमध्ये ७० प्रतिशत बिरामी मौसमी रोगका छन्। कमजोर प्रतिरोधी क्षमता भएका मानिसहरूमा अवस्था गम्भीरसमेत देखिएको छ।"

यहीबीच, राजधानी काठमाडौंको वायु गुणस्तर पनि अत्यन्तै खराब अवस्थामा पुगेको छ। बुधबार बिहान काठमाडौंको वायु प्रदूषण सूचकांक (AQI) २०० नजिक पुगेको थियो, जुन 'अस्वस्थ' श्रेणीमा पर्छ। वायुमण्डलमा धुलो, धुवाँ र सूक्ष्म कणको मात्रा अत्यधिक रहेकाले स्वासप्रश्वासका समस्या भएका व्यक्तिहरूका लागि थप जोखिमपूर्ण अवस्था देखिएको वातावरण विभागको तथ्यांकले देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनतालाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सार्वजनिक सन्देश जारी गरेको छ। मन्त्रालयले प्रमुख स्वास्थ्य कार्यालयहरूमार्फत औषधि र चिकित्सक व्यवस्थापनमा जोड दिएको जनाएको छ। काठमाडौं उपत्यकामा केही अस्पतालहरूले ‘फिभर क्लिनिक’ सञ्चालन गरी सामान्य ज्वरो, खोकी र रुघाखोकी भएका बिरामीको छुट्टै उपचार गरिरहेका छन्।

सरकारले पानीजन्य रोगजस्तै डेंगु, हैजा, झाडापखाला आदिको जोखिमसमेत बढ्न सक्ने बताउँदै सतर्क रहन र व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ। चिकित्सकहरूले मास्क प्रयोग गर्न, उमालेर पानी पिउन, भीडभाडमा नजान र शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरू उपभोग गर्न सुझाव दिएका छन्।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP