आन्दोलन, अराजकता र समाजको वास्तविकता

नेपालमा पटक–पटक राजनीतिक आन्दोलनहरू भए, सरकारहरू परिवर्तन भए, तर जनताको जीवनस्तरमा धेरै सुधार भएन। हिजोआज पनि जब कुनै घटना घट्छ, हामी नेताहरूलाई दोष दिन्छौं, व्यवस्थालाई गलत ठान्छौं। तर, तिनकुनेको भयावह घटनालाई हेर्दा हामी आफैंले प्रश्न गर्नु आवश्यक छ— के हामी जनता नै सही छौं?

हाम्रो समाजमा अराजकता बढ्दै गएको छ। जनता अनुशासित नभएसम्म, नेताहरू पनि अनुशासित हुने छैनन्। किनभने नेताहरू हामीबाटै चुन्ने गरिन्छन्, हाम्रो समाजकै उपज हुन्। जबसम्म हामी हाम्रो स्वभाव, संस्कार, र नैतिकता सुधार्दैनौं, तबसम्म कुनै पनि आन्दोलनले दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउन सक्दैन। उल्टै समाज झन् विकृत बन्दै जान्छ।

आन्दोलनको चेन अफ कमान्डको महत्व

प्रहरी प्रशासनमा जस्तै, आन्दोलनमा पनि चेन अफ कमान्ड अत्यन्त जरुरी हुन्छ। यदि आन्दोलन एक सुव्यवस्थित योजना, अनुशासन र नेतृत्वबिना संचालन गरिन्छ भने त्यसको परिणाम झन् भयावह हुन सक्छ। जसले आन्दोलन आयोजना गर्छ, उसले सहभागी जनताको सुरक्षाको प्रत्याभूति गर्नुपर्छ। आन्दोलन गर्नुभन्दा पहिला यसको उद्देश्य, विधि, र सम्भावित जोखिमबारे सोच्नुपर्छ। अन्यथा, आन्दोलनको नाममा अराजकता मच्चिनु, निर्दोष नागरिकको ज्यान जानु, र राज्य सुरक्षाकर्मी स्वयं असुरक्षित बन्नु स्वाभाविक नै हुन्छ।

सुरक्षाकर्मीको दोहोरो जिम्मेवारी

प्रहरी बललाई शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी दिइएको छ। तर, आन्दोलनको नाममा भएको भीड नियन्त्रण गर्न जाँदा उनीहरू नै असुरक्षित हुने अवस्था आउनु दुर्भाग्यपूर्ण छ। जबसम्म आन्दोलन संयमित रूपमा अगाडि बढ्दैन, तबसम्म प्रहरीका लागि पनि निष्पक्ष रूपमा आफ्नो कर्तव्य पूरा गर्न गाह्रो हुन्छ। यसैले, सुरक्षाकर्मीहरूले पहिला आफ्नो सुरक्षाको ध्यान दिनुपर्छ, अनि मात्र जनताको सुरक्षामा लाग्नुपर्छ।

सामाजिक परिवर्तनको मूल आधार: जनता स्वयं

सामाजिक सुधार नेताहरूको परिवर्तनबाट मात्र सम्भव हुँदैन। जनता सचेत र अनुशासित भए मात्र राजनीतिक दलहरू सुधारिन्छन्। अन्यथा, कोही आन्दोलनमा मर्छन्, कोही घाइते हुन्छन्, तर अवस्था जस्ताको तस्तै रहन्छ। परिवर्तनको लागि आँधीबेहरी ल्याउनु मात्र पर्याप्त छैन, त्यसलाई सही दिशा दिन आवश्यक छ।

हाम्रो समाज सुधार्न, हाम्रै मनोवृत्ति परिवर्तन गर्नुपर्छ। नियम–कानूनको पालना गर्नुपर्छ। सही र गलत छुट्याउने क्षमता बढाउनुपर्छ। जबसम्म हामी आफैं बदलिँदैनौं, तबसम्म कुनै पनि प्रणालीले हामीलाई समृद्ध बनाउन सक्दैन।

त्यसैले, हावाको भरमा आन्दोलनमा होमिनुभन्दा पहिला गहिरो सोचौं। जसले आन्दोलनको नेतृत्व गर्छ, उसले जनताको सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ। अन्यथा, आन्दोलन मात्र होइन, सिंगो समाज नै विनाशतर्फ जान सक्छ।

सबैमा सत्बुद्धि आओस्!
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP