एउटा सपना ढलेर अस्तायो: को जित्यो, को हार्‍यो?

काठमाडौं– समयले इतिहासका कयौं मोड देखाएको छ। विचारका ज्वारभाटा उर्लिए, नाराहरू घन्किए, परिवर्तनका स्वरहरू उचालिए। तर, अन्ततः एउटा सपना ढलेर अस्तायो। प्रश्न उठ्छ– मर्छु भन्ने मरेन, तर गणतन्त्रवादी मरे कि राजावादी?

तिनकुनेको सडकमा गोली चलेको त्यो क्षण, धुवाँले आकाश छोपेको दृश्य, डरले कठांग्रिएका अनुहारहरू। देशले फेरि एक पटक संघर्षको नांगो रूप देख्यो। परिवर्तनका सपना देखेर हिँडेका केही युवा सडकमा ढले, केही अस्पतालको शैयामा छटपटाइरहे। त्यो दिन एउटा आमाले आफ्नो छोरालाई गुमाइन्। अर्को दिन एउटी नारी विधवा भइन्।

आगोको लप्काले एक पत्रकारको ज्यान लियो। उनले कलमको माध्यमबाट सत्य लेख्ने प्रयास गरिरहेका थिए, तर उनको आवाज सधैंका लागि रोकियो। अर्कोतर्फ, एक निहत्था नागरिकको पनि ज्यान गयो, जसले सायद सोचेकै थिएन कि त्यो दिन उनको अन्तिम हुनेछ। आन्दोलकारीहरू घाइते भए, प्रहरीले चोट बेहोर्‍यो। रक्ताम्मे सडकले परिवर्तनका लागि गरिएको संघर्षको मूल्य चुकायो।

अराजकताको पराकाष्ठा देखियो। दनदनी बाले घर, गाडी, पसलहरू। फोटो र भिडियो खिचिरहेका पत्रकारलाई घरभित्र थुनेर आगो लगाइयो। निर्दोष कलमधारीको भयानक मृत्युलाई शब्दमा बयान गर्न कठिन छ। यो आङ जिरिङ गराउने, कहालीलाग्दो दृश्यले समाजलाई कुन दिशामा लैजाँदैछ? जति भत्सर्ना गरे पनि कम हुन्छ।

काठमाडौंको एक छेउमा रहेको सानो घर। घरभित्र एक जना आमाको आँखामा आँसु टिलपिलाइरहेका छन्। उनले आफ्नो छोरो गुमाइन्। परिवर्तनको नाममा, सपना देख्नका नाममा, उचालिएका आदर्शहरूकै नाममा। उनी भन्छिन्, "मलाई केही थाहा छैन राजनीति। मेरो छोरो त फर्किंदैन।"

दोस्रो कोठामा एक युवती। उनको निधारबाट सिन्दुर पुछिएको छ। उनको श्रीमान् परिवर्तन ल्याउन भनेर सडकमा उत्रेका थिए। उनले पनि जित-हारका परिभाषा बुझ्न सकेकी छैनन्। "मैले जीवनभर उनलाई साथ दिने कसम खाएकी थिएँ, तर उनले मलाई बीचमै छोडेर गए। के यही थियो परिवर्तन?" उनको प्रश्न छ।

तिनकुनेमा भएका घटनाले गणतन्त्रवादी र राजावादी बीचको द्वन्द्वलाई पुनः सतहमा ल्याइदिएको छ। कस्ले जित्यो? कस्ले हार्‍यो? इतिहासको पानाले फैसला गर्ला, तर तत्कालीन क्षणमा एउटी आमाको कोख रित्तियो, एउटी नारीको सिन्दुर पुछियो, केही निर्दोष बालबालिका टुहुरा भए।

केही वर्षअघि परिवर्तनका लागि गरिएका नाराहरू आज ओइलाइसकेका छन्। ती नाराहरू सडकमा जति घन्किए, तीव्र जोशका साथ कुर्सीमा पुगेका नेता उत्तिकै मौन छन्। उनीहरू आज आफ्नो गन्तव्यमा छन्, तर ती आमाहरू, ती विधवाहरू, ती टुहुरा बालबालिकाहरूको गन्तव्य कहाँ?

यो जितको उत्सव हो कि पराजयको आँसु? यसको उत्तर इतिहासले दिई रहनेछ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP