तिनकुने त्रासदी: पत्रकारको दर्दनाक मृत्यु, ५१ जना पक्राउ

काठमाडौं, चैत्र १६ – तिनकुनेमा शुक्रबार भएको हिंसात्मक झडपपछि राजधानी अझै स्तब्ध छ। राजशाही पुनर्स्थापनाको माग गर्दै आयोजित प्रदर्शन उग्र बन्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सुरक्षाकर्मीको हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आए पनि घटनाले नरसंहारको रूप लिएको थियो।

सबैभन्दा दर्दनाक घटना भने पत्रकार सुरेश रजकको मृत्यु हो। एभिन्यूज टेलिभिजनका रजक तिनकुनेस्थित एक व्यापारिक भवनको छतबाट प्रदर्शनको दृश्य कैद गरिरहेका थिए। तर, प्रदर्शनकारीहरूले सोही भवनमा आगजनी गर्दा उनी आगोको चपेटामा परे। बाहिर निस्कन नपाएपछि उनी त्यहीँ जलेर मृत्यु भएको पुष्टि भएको छ।

यस घटनाले सञ्चार क्षेत्रलाई स्तब्ध बनाएको छ। नेपाल पत्रकार महासंघ, मानव अधिकार आयोग, र विभिन्न नागरिक समाजका समूहहरूले सरकारसँग मृतक पत्रकारलाई सहिद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति दिन, र दोषीहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।

झडपमा परी दुई जनाको ज्यान गएको छ भने ४५ भन्दा बढी व्यक्ति घाइते भएका छन्राजधानीमा शान्ति सुरक्षा कायम राख्न सरकारले शुक्रबार रातिदेखि कर्फ्यू आदेश जारी गरेको थियो, जुन शनिबार बिहान हटाइएको छ।

यसबीचमा, प्रहरीले राजशाही समर्थक प्रदर्शनकारी ५१ जनालाई पक्राउ गरेको छ, जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महासचिव धवल शमशेर राणा लगायतका नेताहरू पनि छन्। उनीहरूमाथि सार्वजनिक सम्पत्ति ध्वस्त पारेको, आगजनी गरेको, र दङ्गा भड्काएको आरोप लगाइएको छ।

गृहमन्त्री रमेश लेखकले घटनाको गम्भीर छानबिन भइरहेको बताएका छन्। "दोषी जेसुकै हैसियतमा भए पनि कानुनबमोजिम कारबाही हुनेछ," उनले बताएका छन्।

स्थानीय बासिन्दा भने अझै त्रसित छन्। उनीहरूका अनुसार राजनीतिक आस्थाका नाममा भइरहेको हिंसात्मक गतिविधिले आम नागरिक असुरक्षित महसुस गरिरहेका छन्

यस घटनाले नेपालको वर्तमान राजनीतिक परिस्थिति र आम जनताको सुरक्षाका विषयमा गम्भीर प्रश्न उठाएको छ। अब सरकार र प्रशासनको कदम कुन दिशामा जान्छ, त्यसले नै आगामी दिनको सुरक्षा अवस्थालाई निर्धारण गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP