काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ भने अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले सोमबार बिहान ९ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै रसुवा बाढीपछि खोज, उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको जनाएको हो।
प्राधिकरणका अनुसार हालसम्म रसुवाबाट २७, नुवाकोटबाट ९५, धादिङबाट ५५, गोरखाबाट ६५, तनहुँबाट ३८, नवलपरासी पूर्वबाट २१६, नवलपरासी पश्चिमबाट १७० तथा चितवनबाट ३२१ शव फेला परेका छन्।
सम्पर्कविहीनमध्ये नुवाकोटका करिब १ हजार ५५८ जना, जलविद्युत् आयोजनासँग सम्बन्धित ६३९ जना, ५८३ विदेशी नागरिक, विदेशीसँग यात्रा गरिरहेका १६४ नेपाली तथा रसुवाका करिब ८६५ जना रहेका छन्।
हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकोप्टरमार्फत ५७३ उडान सञ्चालन गरेको छ भने निजी क्षेत्रबाट २९ उडान भएका छन्। प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीका लागि ५० उडान सञ्चालन गरिएको जनाइएको छ।
बाढीमा परी २७९ जना घाइते भएका छन्। तीमध्ये १६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। नेपाली सेनाले २ हजार ७४० जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको जनाएको छ।
उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजार ११ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा राहत सामग्री पठाइएको छ भने ९ हेलिकोप्टर उडानमार्फत पनि राहत वितरण गरिएको छ।
सरकारले रसुवा र नुवाकोटलाई जनही १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ स्थानीय तहलाई समेत ६ करोड ७५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।
हाल नुवाकोट, रसुवा, धादिङ र काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा २ हजार ९७० जना आश्रय लिएर बसिरहेका छन्। सञ्चार सेवा अधिकांश क्षेत्रमा पुनः सञ्चालनमा आएको जनाइएको छ।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!