काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलोपुल नजिक हिजो राति भएको भीषण आगलागीबाट काठको गोदामसहित १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राति करिब ९ः१५ बजे रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा सटरमा विद्युत् सर्ट भई आगलागी भएको थियो। आगलागीको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपद् व्यवस्थापनका सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए।
आगो नियन्त्रणका लागि ९ वटा दमकल, ३ वटा पानी ट्यांकर तथा स्थानीयवासीको सहयोग परिचालन गरिएको थियो। करिब दुई घण्टाको प्रयासपछि राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ का ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। टहराको जस्ताबाट खसेर घाइते भएका उनलाई प्रारम्भिक उपचारका लागि नगर अस्पताल मुलपानी लगिएको थियो। त्यसपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
आगलागीबाट ओम काष्ठ मिल उद्योगसहित फर्निचर, मोबाइल, हार्डवेयर, हेल्मेट, अटो रिकन्डिसन, रङ, मिठाई, चिया, किराना, कस्मेटिक तथा स्टेशनरी पसल गरी १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ।
घटनाबाट भएको आर्थिक क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विस्तृत मूल्याङ्कनका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौं। निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका २५ वटा ढोका खोलिएको छ। ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!