काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत विस्तृत विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको र ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन्। बाढीमा घाइते भई अस्पताल भर्ना भएका २७९ जनामध्ये १६८ जना उपचारपछि घर फर्किसकेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा सञ्चालित राहत अभियानअन्तर्गत २७ वटा वितरण केन्द्रमार्फत ३ हजार ६९६ प्रभावित नागरिकलाई राहत तथा आश्रय सुविधा उपलब्ध गराइएको छ। राहत वितरणमा संघीय, प्रदेश र स्थानीय सरकारसँगै सुरक्षाकर्मी, स्वयंसेवी संस्था तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग रहेको उनले बताएका छन्।
प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप कोषमा हालसम्म ५ अर्ब ८७ करोड ९२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको जानकारी दिँदै शाहले विदेशी मुद्रामा समेत सहयोग आउने क्रम जारी रहेको बताएका छन्। भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्र राष्ट्रबाट सहायता प्राप्त भएको उनको भनाइ छ।
बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको त्रिशूलीपारि क्षेत्र पुनः सडक सञ्जालमा जोडिएको तथा विभिन्न स्थानमा अस्थायी बेलिब्रिज निर्माणको तयारी भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्। भारतबाट २३० फिट लामो मोडुलर स्टिल ब्रिज प्राप्त भइसकेको र थप सात वटा बेलिब्रिज आउने प्रतिबद्धता रहेको उनले बताए। चीनबाट पनि ३० वटा बेलिब्रिज प्राप्त हुने जनाइएको छ।
विद्युत् तथा सञ्चार सेवा पुनःस्थापनामा उल्लेखनीय प्रगति भएको प्रधानमन्त्रीको दाबी छ। रसुवामा करिब ३० प्रतिशत, नुवाकोटमा ८५ प्रतिशत र धादिङमा ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ। नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा पनि खोज तथा उद्धार जारी रहेको छ। नेपाली सेनाले विभिन्न आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ भने सुरुङभित्र हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको जनाइएको छ।
प्रधानमन्त्री शाहले हालसम्म ९३९ जनाको शव फेला परेको जानकारी दिँदै पहिचान भएका शव आफन्तलाई बुझाउने र पहिचान नभएका शवको डीएनए लगायतका प्रमाण सुरक्षित राखेर कानुनी प्रक्रियाअनुसार व्यवस्थापन भइरहेको बताएका छन्।
भोटेकोशीको बाढी हिमालय क्षेत्रमा हिमपहिरो र हिउँचट्टान खसेर उत्पन्न भएको असाधारण विपद् भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस घटनाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता देखाएको बताएका छन्।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!