एमालेले भोटेकोशी बाढीपीडितका लागि १ करोड २० लाख रुपैयाँ जुटाउने, आफैं राहत खर्च गर्ने

एमालेले भोटेकोशी बाढीपीडितका लागि १ करोड २० लाख रुपैयाँ जुटाउने, आफैं राहत खर्च गर्ने

काठमाडौं । नेकपा एमालेले भोटेकोशी बाढीपीडितका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ सहयोग संकलन गरी आफैं राहत, उद्धार तथा पुनर्स्थापनामा खर्च गर्ने जनाएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारको मात्र भर नपरी एमालेले आफ्नै स्रोतबाट समेत पीडितलाई राहत उपलब्ध गराउने बताए। सोमबार एमाले बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले १०–१० लाख रुपैयाँका दरले २० लाख रुपैयाँ सहयोग पार्टीलाई हस्तान्तरण गरेका थिए।

सहयोग रकमको चेक बुझ्दै अध्यक्ष ओलीले सरकारी कोषमा रकम जम्मा भए पनि वास्तविक पीडितसम्म राहत पुग्न नसकेको जनगुनासो रहेको बताए। राहत छिटो र प्रभावकारी रूपमा पीडितसम्म पुर्‍याउन सरकार तथा सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

ओलीले एमालेले संकलन गर्ने रकम सरकारी कोषमा जम्मा गर्नेभन्दा पनि प्रत्यक्ष रूपमा पीडितसम्म राहत पुर्‍याउने माध्यम अपनाउने बताए। आवश्यकताअनुसार १ करोड २० लाख रुपैयाँभन्दा बढी पनि खर्च गर्न सकिने उनले संकेत गरे।

उनले विपद्को उद्धारका लागि निजी हेलिकप्टर र तालिमप्राप्त जनशक्तिको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए। उद्धारमा इच्छुक र तालिमप्राप्त जनशक्तिलाई आवश्यक साधन उपलब्ध गराउन सके थप प्रभावकारी काम गर्न सकिने उनको भनाइ थियो।

अध्यक्ष ओलीले पछिल्लो विपद्लाई जलवायु परिवर्तनको गम्भीर असरसँग जोड्दै नेपालजस्ता जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकलाई विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने धारणा राखे। वातावरणीय क्षतिसम्बन्धी स्पष्ट अन्तर्राष्ट्रिय नियम र मापदण्ड तत्काल बनाउनुपर्ने उनले बताए।

यता, एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने वा नगर्ने विषयमा अहिलेसम्म निर्णय नभएको बताए। उनका अनुसार पार्टीले १ करोड २० लाख रुपैयाँ संकलन गरेपछि रकम कसरी र कहाँ खर्च गर्ने भन्ने विषयमा आवश्यक निर्णय गरिनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP