कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन सुरु गरेको छ।
आयोजनाले प्रारम्भिक रूपमा १५ दिन परीक्षण उत्पादन गर्नेछ। यस अवधिमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणहरूको प्राविधिक परीक्षणसमेत गरिनेछ। परीक्षण सफल भएपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ।
आयोजनाले गत मङ्सिरमै उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा आयोजना सञ्चालनमा आउन केही समय लागेको हो। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच वटा टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृति प्राप्त गर्न समय लागेको आयोजनाले जनाएको छ।
सेतीखोला जलविद्युत् आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्ग हुँदै पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्याइएको छ, जहाँ ११-११ मेगावाट क्षमताका दुई वटा टर्बाइन जडान गरिएका छन्।
करिब पाँच अर्ब पाँच करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्रै सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात् आईपीओ निष्कासन गर्ने तयारी गरिएको छ।
यसैबीच, सेती नदीमा पछिल्ला वर्षहरूमा विभिन्न क्षमताका जलविद्युत् आयोजना निर्माणको क्रम तीव्र बनेको छ। गत वर्षदेखि २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना व्यावसायिक उत्पादनमा आइसकेको छ भने हाल आधा दर्जनभन्दा बढी आयोजना निर्माण तथा प्रारम्भिक चरणमा रहेका छन्।
ऊर्जा उत्पादन विस्तारसँगै गण्डकी प्रदेशमा विद्युत् क्षेत्रमा लगानी र पूर्वाधार विकासले थप गति लिने अपेक्षा गरिएको छ।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!