१४ दिनदेखि श्रीमान्को पर्खाइमा सीता : भोटेकोशी बाढीले खोसेको परिवारको सहारा

१४ दिनदेखि श्रीमान्को पर्खाइमा सीता : भोटेकोशी बाढीले खोसेको परिवारको सहारा

बर्दिया । भोटेकोशी बाढीमा श्रीमान् बेपत्ता भएको १४ दिन बितिसक्दा पनि सीता थारुका आँखा ओभाएका छैनन् । भदौ १० गते बाढीमा परेर उनका श्रीमान् खक्काप्रसाद चौधरी बेपत्ता भएदेखि सीता उनी फर्किने आशामा दिनरात पर्खिरहेकी छन् ।

"यही भदौ १० गते भोटेकोशी बाढीका कारण मेरा श्रीमान् बेपत्ता भए," आँसु झार्दै सीताले भनिन् ।

दसैँ खर्च जुटाउन कामका लागि नुवाकोट पुगेका खक्का भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका हुन् । श्रीमान् बेपत्ता भएपछि घरको मुख्य सहारा गुमेको भन्दै सीता चिन्तित छिन् । तर, कतैबाट श्रीमान् फर्किएर आइपुग्ने आशा भने अझै मरेको छैन ।

सीताका दुई छोरी छन् । १२ वर्षीया कञ्चन चौधरी कक्षा ६ मा पढ्छिन् भने पाँच वर्षीया सितल चौधरी बाल कक्षामा अध्ययनरत छिन् । कान्छी छोरीलाई भर्खरै विद्यालय भर्ना गरेकाले यसपटक खक्का उनलाई घरमै छाडेर कामका लागि नुवाकोट गएका थिए ।

खक्का बाढी आउनुभन्दा करिब दुई साताअघि मात्रै नुवाकोटको त्रिशूली–३ 'बी' आयोजनामा काम गर्न पुगेका थिए । उनी लामो समयदेखि स्वदेशका विभिन्न ठाउँमा मजदुरी गर्दै परिवारको खर्च धान्दै आएका थिए ।

विदेश जाने तयारीमा रहेका खक्काले पासपोर्टसमेत बनाइसकेका थिए । तर भिसा नआएपछि तत्काल आम्दानीका लागि नुवाकोट पुगेका थिए । घर निर्माण गर्दा लिएको करिब पाँच लाख रुपैयाँ ऋणसमेत तिर्न बाँकी रहेको सीताले बताइन् ।

"घर बनाउँदा लिएको पाँच लाख रुपैयाँ ऋण तिर्न बाँकी छ," उनले भनिन् ।

श्रीमान्को खोजीका लागि सीता भदौ १३ गते आफन्तसहित चितवन पुगेकी थिइन् । चितवन र नवलपरासी पूर्वका विभिन्न अस्पतालमा दुई दिनसम्म खोजी गरे पनि खक्काको अवस्था पत्ता लागेन ।

श्रीमान्को पहिचानका लागि जिल्ला अस्पताल गुलरियामा जेठी छोरी कञ्चनले डीएनए परीक्षणका लागि रगतसमेत दिएकी छन् ।

३६ वर्षीय खक्का सानैदेखि मजदुरी गर्दै परिवारको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी बाल्यकालमै बुवाबाट टाढिएका थिए भने चार वर्षअघि आमासमेत गुमाएका थिए । उनका भाइ गङ्गाप्रसाद चौधरी छन् । उनी करिब छ वर्षअघि छुट्टिएर हाल विदेशमा छन् ।

सीता अहिले दुई छोरीसहित श्रीमान्को पर्खाइमा छिन् । श्रीमान् जीवितै फर्किने आशा बोकेर बसेकी उनलाई सरकारी खोजीमा भइरहेको ढिलाइले थप चिन्तित बनाएको छ ।

खक्काजस्तै रसुवा तथा भोटेकोशी बाढीपछि बर्दियाका धेरै व्यक्ति बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालका अनुसार बर्दियाबाट मात्रै ७६ जना बेपत्ता छन् । तीमध्ये बारबर्दिया नगरपालिकाका २५ जना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP