काठमाडौं। लगातारको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख तथा सहायक राजमार्ग प्रभावित भएका छन्। पहिरोले सडक बगाउँदा र माटो खस्दा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडकखण्डमा यातायात पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ भने इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग असार २३ गतेदेखि नै पूर्ण रूपमा बन्द रहेको छ।
बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै चल्ने बिपी राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालन रोकिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडकखण्डमा खसेको पहिरोले यातायात ठप्प बनाएको छ।
यस्तै, लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची, गुल्मी र पाल्पामा पनि पहिरोले सडक सञ्जाल प्रभावित भएको छ। रोल्पाको घोराही–रुकुम शहीद मार्ग, अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडकखण्ड तथा गुल्मीस्थित मदन भण्डारी राजमार्ग पूर्ण रूपमा बन्द छन्। पाल्पाको सिद्धार्थ राजमार्गमा भने सवारी साधन एकतर्फी सञ्चालन भइरहेको छ।
प्रहरीले प्रभावित सडकखण्डमा यात्रा नगर्न, वैकल्पिक मार्ग प्रयोग गर्न तथा मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षाका कारण काममा कठिनाइ भइरहेको जनाइएको छ।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!