थाइल्यान्डको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

थाइल्यान्डको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

थाइल्यान्ड ।थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय पबमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको थाई अधिकारीहरूले जनाएका छन्।

हालैका वर्षहरूमा थाइल्यान्डमा भएको यो सबैभन्दा घातक पब आगलागीमध्ये एक मानिएको छ।
आइतबार राति करिब ११ बजेर ५७ मिनेटमा बैंककको चातुचक जिल्लास्थित एक पबमा अचानक आगलागी भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार स्टेज नजिक रहेको विद्युत् प्रणालीमा समस्या आएपछि धुवाँ निस्किएको र त्यसलगत्तै आगो तीव्र रूपमा फैलिएको बताइएको छ। केही मिनेटमै पब धुवाँले भरिएपछि ग्राहकहरू बाहिर निस्कने प्रयास गर्दा भागदौड  मच्चिएको थियो।

धेरै मानिस धुवाँका कारण पछाडिको भाग र शौचालयतर्फ पुगे पनि सुरक्षित रूपमा बाहिर निस्कन नसक्दा घटनास्थलमै ज्यान गुमाएका थिए। उद्धार टोलीले आगो नियन्त्रणमा लिएपछि अधिकांश शव पबको पछाडिको भागबाट फेला पारेको जनाएको छ।

दमकल, प्रहरी र उद्धारकर्मीको टोलीले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो। घाइतेहरूलाई बैंककका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। गम्भीर घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ।

थाई सरकारले घटनाको विस्तृत छानबिन सुरु गरेको छ। आगलागीको वास्तविक कारण, भवनको सुरक्षा मापदण्ड तथा आपत्कालीन निकासको अवस्थाबारे अनुसन्धान भइरहेको छ। साथै देशभरका मनोरञ्जनस्थलमा अग्नि सुरक्षा मापदण्डको पुनः परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP