काठमाडौं। काठमाडौंको टोखा नगरपालिका र गोरखाको पालुङटार नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना गर्दै १५ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुवै स्थानीय तहबीच विकास, सुशासन, पर्यटन तथा अनुभव आदान–प्रदानका माध्यमबाट दीर्घकालीन सहकार्यलाई संस्थागत गर्ने उद्देश्यले उक्त समझदारी गरिएको हो।
समझदारीपत्रमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन ले हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रम टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई र पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसी को रोहवरमा सम्पन्न भएको थियो।
असार १५ गते सम्पन्न उक्त सम्झौतासँगै काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको टोखा नगरपालिका र गोरखाको ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको पालुङटार नगरपालिका औपचारिक रूपमा भगिनी सहरका रूपमा जोडिएका छन्।
समझदारीपत्रका १५ बुँदाअनुसार दुवै नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक विकास, सांस्कृतिक संरक्षण, सुशासन तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य गर्ने भएका छन्। साथै, स्थानीय सरकार सञ्चालनका क्रममा प्राप्त अनुभव, सफल अभ्यास, नीति तथा कार्यक्रमहरू एकअर्कासँग आदान–प्रदान गरी विकासलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।
सम्झौताअनुसार दुवै नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीबीच नियमित अन्तरक्रिया, अध्ययन भ्रमण तथा अवलोकन कार्यक्रम सञ्चालन गरिनेछ। यसबाट सेवा प्रवाहका उत्कृष्ट अभ्यासहरू, प्रशासनिक अनुभव र विकासका सफल मोडलहरू साझा गर्न सहज हुने विश्वास गरिएको छ।
त्यसैगरी, संस्थागत रणनीति, आवधिक योजना, वार्षिक कार्यक्रम, बजेट, नीति, निर्देशिका तथा कार्यविधिहरू एकअर्कासँग साझा गर्ने व्यवस्था पनि समझदारीपत्रमा उल्लेख गरिएको छ। आवश्यकताअनुसार प्राविधिक सहयोग आदान–प्रदान गर्ने, विकास आयोजनाको कार्यान्वयनमा सहकार्य गर्ने तथा आन्तरिक एवं बाह्य स्रोत परिचालनमा एकअर्कालाई सहयोग गर्ने सहमति समेत भएको छ।
पर्यटन क्षेत्रलाई समझदारीको मुख्य प्राथमिकतामध्ये एक बनाइएको छ। दुवै नगरपालिकाले आ–आफ्ना पर्यटकीय गन्तव्यहरूको संयुक्त प्रवर्द्धन गर्ने, निजी पर्यटन व्यवसायी तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाबीच सम्बन्ध विस्तार गर्ने तथा पर्यटकको आवागमन बढाउन संयुक्त पहल गर्ने भएका छन्।
यस्तै, मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम तथा विशेष अवसरहरूमा एकअर्काको सहभागिता सुनिश्चित गर्ने, पर्यटन प्रवर्द्धनका लागि आवश्यक ज्ञान, सीप तथा अनुभवहरू साटासाट गर्ने र दुवै नगरलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
समझदारीपत्रमा वातावरण संरक्षण, हरित विकास, फोहोर व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा पनि सहकार्य गर्ने उल्लेख गरिएको छ। विपद्का बेला अनुभव, प्रविधि तथा स्रोत–साधनको उपयोगमा एकअर्कालाई सहयोग गर्ने समझदारी समेत भएको छ।
दुवै नगरपालिकाले आफ्ना आधिकारिक वेबसाइटहरूबीच लिंक स्थापना गर्ने, विकाससम्बन्धी सूचना तथा तथ्यांक साझा गर्ने र आवश्यकताअनुसार संयुक्त कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्। यसले स्थानीय तहबीचको सहकार्यलाई औपचारिक र परिणाममुखी बनाउने विश्वास लिइएको छ।
संघीय शासन प्रणाली लागू भएपछि स्थानीय तहहरूबीच सहकार्य, अनुभव आदान–प्रदान र साझेदारीमार्फत विकासलाई गति दिने प्रयास भइरहेका बेला टोखा र पालुङटारबीच भएको यो १५ बुँदे समझदारीलाई स्थानीय सरकारहरूबीच सहकार्यको नयाँ नमूनाका रूपमा हेरिएको छ।
दुवै नगरपालिकाका प्रमुखहरूले भगिनी सम्बन्धले विकासका अवसरहरू विस्तार गर्नुका साथै जनतामाझ सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय तहबीच प्रतिस्पर्धाभन्दा सहकार्यको संस्कृति विकास गर्दै समृद्धि र विकासको साझा लक्ष्य हासिल गर्न यो सम्झौताले महत्वपूर्ण आधार तयार पार्ने अपेक्षा गरिएको छ।
काठमाडौ ।अमेरिकामा जन्मिने शिशुहरूको जन्मसिद्ध नागरिकताको संवैधानिक अधिकार कायम राख्दै अमेरिकी सर्वो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!