नवलपरासीमा जापानिज इन्सेफ्लाइटिस बढ्दो, खोप अभियान सुरु

नवलपरासीमा जापानिज इन्सेफ्लाइटिस बढ्दो, खोप अभियान सुरु

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापानिज इन्सेफ्लाइटिस को सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईँका अनुसार जिल्लाभर चैत १ गतेदेखि अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत करिब एक लाख ५० हजारभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।

चालु आर्थिक वर्षमै १५ जना सङ्क्रमित फेला परिसकेको र तीमध्ये छ जनाको मृत्यु भइसकेको जानकारी दिँदै चापागाईँले सङ्क्रमणदर बढ्दो क्रममा रहेकाले विशेष अभियान सञ्चालन गरिएको बताए।

जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा एकैसाथ खोप कार्यक्रम सञ्चालन भइरहेको छ।

स्वास्थ्य कार्यालयका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा सात जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको थियो। त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा आठ जनामा सङ्क्रमण देखिएकोमध्ये एक जनाको मृत्यु भएको छ।

स्वास्थ्यकर्मीका अनुसार जापानिज इन्सेफ्लाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेबाट सर्ने रोग हो। यी लामखुट्टे प्रायः साँझपख र राति सक्रिय हुने तथा धानबालीमा जमेको पानीमा बढी पाइने गर्छन्। विशेषगरी साउन, भदौ र असोज महिनामा यसको जोखिम उच्च रहने भएकाले अहिलेको खोप अभियानलाई रोग नियन्त्रणका लागि महत्त्वपूर्ण मानिएको छ।

स्वास्थ्य कार्यालयले सबै लक्षित नागरिकलाई अनिवार्य रूपमा खोप लगाउन र लामखुट्टेबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

आजको मौसम पूर्वानुमान कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना  !
5 घण्टा अगाडि

काठमाडौँ |हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली ...

छुटाउनुभयो कि ?

TOP