कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा

विराटनगर १५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले १४ स्थानमा विजयी हासिल गर्दै सबैभन्दा ठूलो दल बनेको थियो। एमालेले ताप्लेजुङ, पाँचथर र इलामका दुवै निर्वाचन क्षेत्रमा क्लिन स्वीप गरेको थियो भने झापाका २, ४ र ५ नम्बर क्षेत्रमा जित निकालेको थियो। यस्तै मोरङ–२, सुनसरी–२ र ३, धनकुटा, सोलुखुम्बु तथा उदयपुर–२ मा पनि एमालेका उम्मेदवार विजयी भएका थिए।

प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसले भने झापा–१, संखुवासभा, तेह्रथुम, मोरङ–१, ३ र ६, सुनसरी–४, उदयपुर–१ तथा ओखलढुंगामा जित निकाल्दै ८ सिट सुरक्षित गरेको थियो। तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले मोरङ–४, भोजपुर र खोटाङ गरी तीन सिट जितेको थियो।

त्यसबाहेक मोरङ–५ बाट स्वतन्त्र उम्मेदवार योगी मण्डल, सुनसरी–१ बाट जनता समाजवादी पार्टीका अशोक राई तथा झापा–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन निर्वाचित भएका थिए।

आगामी निर्वाचनलाई लक्षित गर्दै एमाले कम्तीमा १० देखि १२ सिट सुरक्षित गर्न सकिने रणनीतिका साथ चुनावी मैदानमा होमिएको छ। ‘हामी १२ सिटसम्म जित्ने प्रतिस्पर्धामा छौँ,’ एमालेका एक नेताले बताए। यद्यपि एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई भने पार्टीले कोशी प्रदेशमा स्पष्ट बहुमत ल्याउने दाबी गर्छन्।

उता, २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव लडेको नेपाली कांग्रेसले अपेक्षाकृत परिणाम निकाल्न नसकेको स्वीकारोक्ति नेताहरूले गरिरहेका छन्। यसपटक पार्टीभित्र विशेष महाधिवेशन पक्षधर र अर्को समूहबीच अन्तर्घात हुने हो कि भन्ने चिन्ता कांग्रेस नेतृत्वमा देखिन्छ।

‘हाम्रो मुख्य प्रतिस्पर्धा एमालेसँगै हो। तर अन्तिम समयसम्म पार्टीभित्र घात–अन्तर्घात रोक्न सक्यौँ भने हामी पहिलो पार्टी हुन्छौँ,’ कांग्रेसका एक नेताले भने। कांग्रेस स्रोतका अनुसार हालसम्म मोरङ–३ बाहेक अन्य क्षेत्र जित्ने अवस्था स्पष्ट देखिएको छैन। ‘झापा, मोरङ र सुनसरीमै अवस्था कमजोर छ। पहाडी जिल्लामा पनि घण्टी र माटोले हाम्रो आधार खस्काएको छ,’ ती नेताले बताए।

तर कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई भने यसपटक एमालेको जनाधार कमजोर भएको दाबी गर्दै कांग्रेस नै कोशी प्रदेशको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्छन्।

यस्तै नेकपाले भने अघिल्लो निर्वाचनमा जितेको तीन सिटबाट बढाएर ६–७ सिटसम्म पुग्ने दाबी गरेको छ। पार्टीका नेता इन्द्रबहादुर आङ्बो विगतका निर्वाचनको जस्तो अहिले समीकरण नरहेको बताउँछन्। ‘पहिले बलिया भनिएका कांग्रेस र एमालेको सांगठनिक आधार कमजोर भएको छ। उनीहरू आन्तरिक रूपमा छिन्नभिन्न छन्, जबकि हाम्रो पार्टी एकताबद्ध छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी–१ मा एमालेको पुरानो पकड फर्काउने दाउ: टीका माङलेन उम्मेदवार
2 घण्टा अघि

सुनसरी, १४ माघ -आगामी प्रतिनिधि सभा चुनावका लागि नेकपा एमालेले सुनसरी–१ बाट ४० वर्षीय टीका ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP