चाँगुनारायण–हनुमानढोका: शक्ति, सत्ता र विष्णुको रहस्य

चाँगुनारायण–हनुमानढोका: शक्ति, सत्ता र विष्णुको रहस्य

पशुपति देवपतन – नेपालका सांस्कृतिक र राजनीतिक इतिहासमा चाँगुनारायण र हनुमानढोका दरबार क्षेत्रबीचको सम्बन्ध केवल धार्मिक आस्था मात्र होइन, यो एउटा तान्त्रिक कडी हो जसले राष्ट्रको नेतृत्व सम्हाल्ने व्यक्तिलाई आफ्नो जिम्मेवारी र नैतिकताको बोध गराउँछ।
वर्षमा दुई पटक (श्रावण शुक्ल द्वादशी र पौष शुक्ल पूर्णिमा) हुने चाँगुनारायणको 'बसाजोल पूजा' र हनुमानढोका आगमनको परम्पराले राज्यको शक्तिलाई 'ब्रह्मज्ञान'सँग जोड्ने काम गर्दछ।

चाँगुनारायणबाट हिँडेर ल्याइएका तीनवटा कलश – ब्रह्मा, विष्णु र महेश्वर – जमल हुँदै त्रिचन्द्र कलेजको देवालयमा विश्राम गरी हनुमानढोका पुग्छन्। त्यहाँ तलेजु भवानीका पुजारीले सर्वप्रथम तन्त्र विधिअनुसार पूजा गरेपछि मात्र नारायण दरबार क्षेत्रमा प्रवेश पाउँछन्।

यसपटकको यात्रा विशेष छ, किनकि नयाँ जीवित देवी कुमारी र चाँगुनारायणको सँगै पूजा हुँदैछ। कुमारीका मूल पुजारी उद्धव कर्माचार्यले गुह्येश्वरीको रथ विराजमान गराइने स्थानमा कुमारी र चाँगुनारायणलाई सँगै राखेर अर्चना गर्नुहुनेछ।

परम्पराअनुसार ल्याइएका तीनवटा जल घडामध्ये दायाँ-बायाँका घडा सर्वसाधारणका लागि खुला हुन्छ, तर बीचको मुख्य घडा (नारायणको प्रतीक) राष्ट्रप्रमुख (राजा वा राष्ट्रपति) का लागि मात्र सुरक्षित हुन्छ। राष्ट्रप्रमुखले सो जल ग्रहण गर्नुको अर्थ आफूलाई विष्णुको नीति र नियममा बाँध्नु हो।

यो जल ग्रहणसँगै राष्ट्रप्रमुखले देशको रक्षा, जनताको सुख र राष्ट्रको प्रगतिका लागि आफू जिम्मेवार बनाउने प्रतिज्ञा गर्छन्। चाँगुनारायणले राष्ट्रप्रमुखलाई 'सद्बुद्धि' र 'शान्ति व्यवस्थापन' को ऊर्जा दिएर सोही दिन मन्दिर फर्किने परम्पराले सत्तालाई जनताप्रति जवाफदेही बनाउने सन्देश दिन्छ।

यस यात्राको रोचक पक्ष भनेको बाटोमा 'खाली गाग्री' र माटाका भाँडा फुटाएर गरिने प्रदर्शन हो। स्थानीय बासिन्दाहरूले नारायणलाई खाली भाँडा देखाएर जनताको निराशा र सत्ताप्रति सचेत रहनु पर्ने सन्देश दिन्छन्।

चाँगुनारायणको जल यात्रा नेपालका प्राचीन र मध्यकालीन राज्य सञ्चालन पद्धति कति लोकतान्त्रिक र तान्त्रिक थियो भन्ने देखाउँछ। उद्धव कर्माचार्य जस्ता साधकहरूले धानेको यो पूजा परम्पराले आज पनि राष्ट्रप्रमुखलाई आफू 'भक्षक' होइन, 'रक्षक' (विष्णु) हुनुपर्ने स्मरण गराइरहेको छ।

चाँगुनारायणको जल केवल राष्ट्रप्रमुखका लागि होइन, सिंगो राष्ट्रको सुरक्षा र कल्याणका लागि अभिषेकको रूपमा प्रयोग हुँदै आएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP