काठमाडौ।साउन १ गतेदेखि भदौ २१ गतेसम्म सञ्चालन भइरहेको श्री पशुपति मनोकामना पुर्ति तथा सड्ढट मोचन महायज्ञ–२०८२ हिजो पाँचौं दिन एक अनुपम धार्मिक उत्सवका रूपमा सम्पन्न भयो। हम्स मण्डपमा हजारौं भक्तजनहरूको अद्भुत सहभागिताले पाचौं दिनलाई ऐतिहासिक बनायो। कथा श्रवण, शास्त्रीय संगीत, र भजनमा भक्तजनहरूको सामूहिक नृत्यले वातावरणलाई शिवमय बनाएको थियो। एक स्वरमा ‘ॐ नमः शिवाय’, ‘हर हर महादेव’ र ‘जय श्री पशुपतिनाथ’ जस्ता मन्त्रहरूको गुञ्जनले मण्डप पूरै आध्यात्मिक ऊर्जा र भक्तिभावले भरिएको थियो।
पार्किङ क्षेत्रदेखि रुद्र गारेश्वर मन्दिरसम्म खुट्टा टेक्ने ठाउँ थिएन। श्रद्धालुहरू पूजनीय स्थलमा तस्वीर र भिडियो खिच्दै, दर्शन गर्दै र भक्ति भावमा डुबिरहेका थिए। दान पेटिकामा निरन्तर दान भइरहेकाले सम्पूर्ण परिसर धार्मिक समर्पण र सहयोगको केन्द्र बनेको देखिन्थ्यो। कोही मौन दान गर्दै थिए, कोही सचिबालयमार्फत ठूला रकम दान गर्दै रसिद कटाएर सार्वजनिक रूपमा स्वघोषणा गरिरहेका थिए। पाँचौं दिन मात्रै सयौं भक्तजनहरूले दान अर्पण गरेका थिए।
मानव सेवा फाउन्डेसन नेपालले मामाघर र छोरी घरको स्थायी भवन निर्माणका लागि यो महायज्ञको आयोजना गरिएको जानकारी दिएको छ। धार्मिक आयोजनासँगै सामाजिक सेवाको उद्देश्य मिसिएको यस यज्ञले पुण्य र परमार्थको समृद्ध सन्देश फैलाएको छ।
कार्यक्रमस्थलमा ५१ फिट अग्लो रुद्राक्ष शिव लिङ्ग, अन्य शिव लिङ्ग र सालिग्राम, बुद्ध मूर्ति, पाँच हजार कलश लगायतका पूजनीय सामग्रीहरूले स्थललाई दिव्य र आकर्षक बनाएको छ। दानवीरहरूलाई पञ्चे बाजामा सम्मानपूर्वक कार्यक्रम स्थलसम्म ल्याइन्छ। सयौं पण्डितहरूले सामूहिक रूपमा पाठ गरिरहेका छन्, जसले सम्पूर्ण वातावरणलाई मन्त्रमय बनाएको छ।
बिहान ९ बजेबाट कथा सुरु हुने भनिए तापनि, सबेरैदेखि नै भक्तजनहरूको लहर देखिन्छ। मानव सेवा स्वयंसेवक र कर्मचारीहरूको व्यवस्थित, शालीन र भक्तजनमैत्री व्यवहारले श्रद्धालुहरूको मन जितेको देखिन्छ।
यस ऐतिहासिक यज्ञका सड्ढल्पकर्ता विजयकृष्ण मुर्ति स्वयं भक्तजनहरूसँग उपस्थित छन्। उनले भने, "धर्मले मात्र हाम्रो आत्मा, समाज र संस्कार सुरक्षित रहन्छ। महायज्ञ केवल पूजापाठ होइन, मानवताको जागरण हो।"
मेचिकालिदेखि भारत, अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न मुलुकहरूबाट श्रद्धालुहरू महायज्ञ दर्शन र पशुपतिनाथको कृपा प्राप्त गर्न आएका छन्। साउन महिनाको विशेष महत्त्व र पाशुपत क्षेत्रको धार्मिक गरिमा मिलेर यो यज्ञ आम सनातनीका लागि पुण्य, भक्ति र आध्यात्मिक जागरणको अनुपम अवसर बनेको छ।
आज महायज्ञ छैटौं दिनमा प्रवेश गरेको छ। हिजोको भव्यता, भक्तिभाव र दानको लहर आज पनि उत्साहका साथ जारी छ। कथा, पूजा, सेवा र समर्पणमार्फत यो यज्ञ सनातन धर्मको उज्यालो झल्को बनेर देश–विदेशमा फैलिरहेको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया