पोखरा, १७ वैशाख। पोखरा महानगरपालिका–१७ बिरौटामा निर्मित गण्डकी कोटिहोममा अक्षय तृतीयाको पावन अवसर पारेर विधिपूर्वक बिराट ज्ञान महायज्ञको औपचारिक शुभारम्भ गरिएको छ। वैदिक परम्पराअनुसार पञ्चाङ्ग निर्णायक समितिद्वारा तोकिएको शुभ साइत बिहान ६:२७ बजे बालयोगेश्वर विजयकृष्ण मूर्ति महाराजको प्रमुख संकल्पमा यज्ञ सुरु गरिएको हो।
अक्षय तृतीया, जुन सत्ययुगको प्रारम्भ र बसन्त ऋतुको प्रतीक दिन मानिन्छ, त्यही दिन यज्ञको आरम्भ हुनु आफैमा ऐतिहासिक तथा आध्यात्मिक दृष्टिले विशेष मानिएको छ। महाराज विजयकृष्ण मुर्तिका अनुसार – “मानव कल्याण, विश्व शान्ति र समृद्धिको कामनासहित आरम्भ गरिएको यो महायज्ञ चार मुख्य आधार – सदगुरु, समिति, सञ्चारकर्मी र संकल्प – मा आधारित भएर सम्पन्न हुनेछ।”
शुभारम्भ कार्यक्रममा स्थानीयवासी, विद्वान पण्डित, साधु–सन्त, सञ्चारकर्मी, र देशका ५० भन्दा बढी जिल्लाबाट आएका श्रद्धालुहरूको उल्लेख्य उपस्थिति थियो। मंगलबारको ११ हजार कलश यात्राले सम्पूर्ण वातावरण भक्तिमय बनाएको थियो। श्रद्धा र उत्साहले भरिएको कोटिहोम परिसर अहिले भव्य धार्मिक केन्द्रको रुपमा स्थापित हुँदैछ।
कार्यक्रमको आयोजना मानव सेवा फाउन्डेसन नेपालले गरेको हो। फाउन्डेसनका अनुसार यज्ञ अवधिभर विविध धार्मिक र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यसमा विवाह, ब्रतबन्ध, रामायण पाठ, श्रीमद्भागवत कथा, प्रवचन, भजन प्रतियोगिता, हाजिरीजवाफ लगायतका कार्यक्रमहरू समावेश छन्।
महायज्ञमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त श्रीमद्भागवत कथावाचिका देवी प्रतिभाको कथा बाचन निरन्तर जारी छ। कथा सुरु भएदेखि नै उहाँको प्रस्तुतिले श्रोताको हृदय छोएको छ। वैशाख १९ गते देवी प्रतिभाको बिदाइ कार्यक्रम गरिने कार्यक्रम तालिकामा उल्लेख गरिएको छ।
यज्ञ अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गुरूहरूको सहभागिता सुनिश्चित गरिएको छ। कार्यक्रमको सन्देश देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा पनि फैलाउने उद्देश्यले सञ्चारकर्मीहरूको उल्लेख्य सक्रियता देखिएको छ।
गण्डकी कोटिहोमलाई नेपालकै प्रमुख आध्यात्मिक थलो बनाउने संकल्प सहित निर्माण गरिएको हो। महाराज विजयकृष्णको दूरदृष्टिले प्रेरित यस परियोजनाले धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र मानव कल्याणका दिशामा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया