अख्तियारमा ४० हजारभन्दा बढी उजुरी, एक वर्षमा १७५ भ्रष्टाचार मुद्दा दायर

अख्तियारमा ४० हजारभन्दा बढी उजुरी, एक वर्षमा १७५ भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा ४० हजार ८४२ वटा उजुरी दर्ता भएको छ। आयोगले तीमध्ये ३२ हजार ८२३ वटा उजुरी फर्छ्योट गरेको जनाएको छ।

आयोगले आफ्नो ३६औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्दै उक्त विवरण सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार उजुरीमध्ये स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा बढी २० हजार २५ वटा अर्थात् ४९.०३ प्रतिशत रहेका छन्। संघसँग सम्बन्धित १५ हजार ५१२ र प्रदेशसँग सम्बन्धित ५ हजार ३०५ उजुरी दर्ता भएका छन्। 

प्रदेशगत रूपमा सबैभन्दा धेरै उजुरी बागमती प्रदेशमा १३ हजार २१४ वटा र सबैभन्दा कम गण्डकी प्रदेशमा २ हजार ६३५ वटा दर्ता भएका छन्। 

प्रतिवेदन अनुसार आयोगले समीक्षा अवधिमा विभिन्न भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा १७५ वटा मुद्दा दायर गरेको छ। तीमध्ये सार्वजनिक सम्पत्ति हानि–नोक्सानीसम्बन्धी ५६, घुससम्बन्धी ४१ र गैरकानुनी लाभ वा हानिसम्बन्धी २७ मुद्दा रहेका छन्। 

मुद्दामा ९९० जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूमध्ये ७ जना संघीय मन्त्री, ५४९ जना राष्ट्रसेवक कर्मचारी, ५० जना निर्वाचित जनप्रतिनिधि र २२ जना राजनीतिक नियुक्तिका पदाधिकारी रहेका छन्। आयोगले ती मुद्दामा २५ अर्ब २३ करोड ६५ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरेको जनाएको छ। 

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि अनुसन्धानलाई थप वैज्ञानिक, प्रविधिमैत्री र नतिजामुखी बनाइएको बताएका छन्। राष्ट्रपति पौडेलले पनि आयोगलाई निष्पक्षता र निर्भीकताका साथ काम गर्न शुभकामना दिएका छन्। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP