चर्चामा
काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणमा फरार रहेका जीबी राईले अज्ञात स्थलबाट वक्तव्य जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई सहकारी ठगी प्रकरणमा अनावश्यक रूपमा नजोड्न आग्रह गरेका छन्।
राईले गोर्खा मिडिया नेटवर्क आफ्नो भएको र सहकारीबाट उक्त नेटवर्कमा गएको रकमको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्। सम्बन्धित सहकारीसँगको आर्थिक दायित्व पनि आफ्नै भएको उल्लेख गर्दै उनले अरू व्यक्तिलाई दोषी देखाउनु उचित नहुने जिकिर गरेका छन्।
ग्यालेक्सी टेलिभिजनलगायत कम्पनीमा सहकारीको रकम लगानी गरिएको स्वीकार गर्दै राईले ती कम्पनीले अपेक्षित प्रतिफल दिन नसक्दा आर्थिक संकट उत्पन्न भएको बताएका छन्। कोभिड महामारीपछिको आर्थिक मन्दी र रुस–युक्रेन युद्धले अर्थतन्त्रमा पारेको प्रभावका कारण ऋण असुली प्रभावित भएको उनको दाबी छ।
आफूलाई पक्राउ गर्दैमा बचतकर्ताको रकम फिर्ता नहुने टिप्पणी गर्दै राईले विभिन्न विकल्पमार्फत बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। साथीभाइ, आफन्त तथा शुभेच्छुकको सहयोगमा केही जग्गाजमिनको व्यवस्थापन गरिसकेको उल्लेख गर्दै आवश्यक परे उक्त सम्पत्ति बिक्री गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने उनको भनाइ छ।
सरकारलाई सम्बोधन गर्दै उनले आफ्नो खोजीमा शक्ति र संयन्त्र परिचालन गर्नुभन्दा बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाउन आग्रह गरेका छन्। आफू जीवनभर लुकेर भागेर बस्न नचाहेको र कानुनी प्रक्रिया स्वीकार गर्न तयार रहेको पनि उनले बताएका छन्।
राईले सहकारी संकटमा राज्यको व्यवहार र कमजोर नियमन प्रणालीसमेत जिम्मेवार रहेको आरोप लगाएका छन्। सहकारीमाथि राजनीतिक स्वार्थका कारण प्रहार भएको उनको दाबी छ। यद्यपि, वर्तमान सरकारले बचतकर्ताको रकम सुरक्षित गर्न अघि बढाएका कदमको उनले प्रशंसा गरेका छन्।
ओखलढुंगाको सामान्य परिवारबाट आएको उल्लेख गर्दै उनले आफ्नो व्यवसाय र कारोबार राज्यको व्यवहारका कारण बिग्रिएको दाबी गरेका छन्। आफूलाई देशकै इतिहासको सबैभन्दा ठूलो अपराधीका रूपमा चित्रण गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
वक्तव्यको अन्त्यमा राईले आफूले नगरेका कामका कारण पीडित बनेका सहकारीका पूर्व तथा वर्तमान सञ्चालक, कर्मचारी र शुभेच्छुकहरूसँग क्षमायाचना गरेका छन्।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!