एक हजार मिटर तल खस्यो इभी, चार जनाको मृत्यु, चार घाइते

एक हजार मिटर तल खस्यो इभी, चार जनाको मृत्यु, चार घाइते

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको यात्रुवाहक विद्युतीय गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी आज दिउँसो करिब २ बजे हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिब एक हजार मिटर तल खसेको थियो।

दुर्घटनामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहादुरसिंह ठकुरी, धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराई, पर्साको छिपहरमाई–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराको परवानीपुर–३ लिपनीमालका ३२ वर्षीय सरफरोस मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ। शव हेटौँडा अस्पतालमा राखिएको छ।

दुर्घटनामा चालक बाराको कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय अमीर अन्सारी, हेटौँडा–११ की २३ वर्षीया कल्पना तामाङ, मकवानपुरगढी–१ का २३ वर्षीय राजकुमार स्याङ्तान र बाराको महागढीमाई–११ की २१ वर्षीया बबिया कुमारी यादव घाइते भएका छन्।

अन्सारी, तामाङ र स्याङ्तानको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्सारी र स्याङ्तानको अवस्था गम्भीर छ।

घाइते यादवले गाडी दुर्घटनाअघि तीव्र गतिमा गुडिरहेको बताएकी छन्। लोकसेवा आयोगको परीक्षा दिन वीरगञ्ज जाँदै गर्दा दुर्घटनामा परेको बताउँदै उनले गाडी पल्टिँदै गर्दा झ्यालबाट बाहिर निस्कन सफल भएको बताइन्।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP