इम्युनोस्प्रेसेन्ट औषधिको बिक्रीमा रोक छैन : औषधि व्यवस्था विभाग

इम्युनोस्प्रेसेन्ट औषधिको बिक्रीमा रोक छैन : औषधि व्यवस्था विभाग

काठमाडौं । अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घरोगीले प्रयोग गर्ने इम्युनोस्प्रेसेन्ट औषधिको बिक्री-वितरणमा रोक नलगाइएको औषधि व्यवस्था विभागले स्पष्ट पारेको छ। विभागको पछिल्लो सूचनालाई लिएर बजारमा औषधि प्रतिबन्धित भएको भन्दै अन्योल सिर्जना भएपछि बिहीबार विज्ञप्ति जारी गर्दै विभागले यस्तो स्पष्टीकरण दिएको हो।

विभागका अनुसार तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा आवश्यक मापदण्ड पूरा नगरेका ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन र आयातमा मात्रै रोक लगाइएको हो। ती औषधिका दर्ता प्रमाणपत्रसमेत खारेज गरिएका छन्। तर, यसअघि नै बजारमा आइसकेका औषधिको प्रयोग तथा बिक्री-वितरणमा भने कुनै प्रतिबन्ध नलगाइएको विभागले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार औषधिको गुणस्तर र सुरक्षालाई ध्यानमा राख्दै वैज्ञानिक जोखिम मूल्याङ्कनका आधारमा नियमनका कदम चालिएको विभागको भनाइ छ।

विभागले जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका उद्योग तथा आयातकर्तालाई औषधिको आपूर्ति सहज बनाउन बढीमा तीन महिनासम्म उत्पादन वा आयात गर्न विशेष अनुमति दिएको र प्रमाणपत्र नवीकरणसमेत गरेको जनाएको छ।

नेपाल औषधि उत्पादक सङ्घ, नेपाल औषधि आयातकर्ता सङ्घ र नेपाल औषधि व्यवसायी सङ्घसँग समन्वय गरी बजारमा औषधिको उपलब्धता सहज बनाउने प्रयास भइरहेको विभागले जनाएको छ।

अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घकालीन रोगका बिरामीका लागि यी औषधि आवश्यक पर्ने भएकाले अभाव हुन नदिन विभाग प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। साथै, बिरामीलाई चिकित्सकको परामर्शअनुसार नियमित औषधि सेवन गर्न आग्रह गरिएको छ।

विभागले आफ्नो निर्णयविपरीत नयाँ उत्पादन वा आयात गरी त्यसबाट कुनै प्रतिकूल असर उत्पन्न भएमा सम्बन्धित औषधि उपलब्ध गराउने वा प्रयोग गराउने निकाय तथा व्यक्तिले जिम्मेवारी लिनुपर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP