चर्चामा
काठमाडौं । काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति थप भरपर्दो बनाउने लक्ष्यसहित निर्माण भइरहेको चोभार सबस्टेसन सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। कीर्तिपुर नगरपालिका-६ मा निर्माणाधीन १३२/११ केभी क्षमताको सबस्टेसनको एउटा पावर ट्रान्सफर्मर दशैँलगत्तै सञ्चालनमा ल्याइने भएको छ।
सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार यहाँबाट कीर्तिपुर र आसपासका क्षेत्रका साथै ललितपुरको पुल्चोक क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन सहयोग पुग्नेछ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहितको टोलीले बिहीबार सबस्टेसनको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा श्रेष्ठले बाँकी काम शीघ्र सम्पन्न गरी दशैँलगत्तै सबस्टेसन सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।
सबस्टेसनबाट विद्युत् वितरण गर्न ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ। तीमध्ये तीनवटा ललितपुरको पुल्चोकतर्फ र छवटा कीर्तिपुरतर्फ विस्तार गरिनेछन्। फिडर लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ।
आगामी हिउँदयाममा उपत्यकामा विद्युत्को माग बढ्ने भएकाले चोभार सबस्टेसन र मातातीर्थ-चोभार प्रसारण लाइन सञ्चालनले आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो सबस्टेसन प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत पर्छ। चोभारदेखि पाटनसम्म करिब साढे चार किलोमिटर भूमिगत १३२ केभी प्रसारण लाइन निर्माण र पाटनमा सबस्टेसन निर्माणको कामसमेत अघि बढाइएको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!