विमानस्थलको एक्स–रे छलेर नेपाल भित्रियो ३ किलो थाई गाँजा, ३ विदेशी पक्राउ

विमानस्थलको एक्स–रे छलेर नेपाल भित्रियो ३ किलो थाई गाँजा, ३ विदेशी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्स–रे जाँच पार गर्दै नेपाल भित्रिएको ३ किलो थाइल्यान्डको गाँजासहित तीन विदेशी नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार म्यानमारकी नागरिक जिन जिन फाओ क्याथे प्यासिफिक एअरवेजमार्फत भियतनाम–हङकङ हुँदै काठमाडौं आइपुगेकी थिइन्। विमानस्थलमा उनको सुटकेस एक्स–रे जाँचबाट सहजै पास भए पनि ट्राभल हिस्ट्रीका आधारमा शंकास्पद देखिएपछि ब्युरोले निगरानी बढाएको थियो।

ब्युरोको टोलीले २८ भदौमा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित एक होटलबाट फाओलाई नियन्त्रणमा लिई सुटकेस जाँच गर्दा ३ किलो थाइल्यान्डको गाँजा बरामद गरेको जनाएको छ।

बरामद गाँजाको वास्तविक गन्तव्य र सञ्जाल पत्ता लगाउन प्रहरीले घटनालाई गोप्य राख्दै थप अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा गाँजा लिन आएका भारतको उत्तर प्रदेश गोरखपुरका ३० वर्षीय बार्कटुल्लाह र २५ वर्षीय युसुफ खानलाई पनि पक्राउ गरिएको छ।

प्रहरीले उनीहरूबाट ३ किलो गाँजा, ३ थान राहदानी र ३ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

ब्युरोका अनुसार पछिल्लो समय थाइल्यान्डबाट हवाई मार्ग प्रयोग गरी गाँजा तस्करी गर्ने प्रवृत्ति बढ्दो छ। आर्थिक वर्ष २०८१/०८२ यता मात्र थाई गाँजासहित १४० जना पक्राउ परिसकेका छन् भने करिब ५०० किलो गाँजा बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP