क्यान महासंघमा विवाद चर्कियो, कार्यवाहक अध्यक्षद्वारा महासचिवविरुद्ध प्रशासनमा उजुरी

क्यान महासंघमा विवाद चर्कियो, कार्यवाहक अध्यक्षद्वारा महासचिवविरुद्ध प्रशासनमा उजुरी

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघभित्रको विवाद सार्वजनिक भएको छ। महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले महासचिव चन्द्रविलास भुर्तेलविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका छन्।

अधिकारीले महासचिव भुर्तेलले महासंघको आधिकारिक इमेल, सदस्य अभिलेख, वित्तीय कागजात तथा अन्तर्राष्ट्रिय संस्थासँगको पत्राचारसम्बन्धी अभिलेख एकलौटी रूपमा नियन्त्रणमा लिएर दुरुपयोग गरेको आरोप लगाएका छन्। उनले यसबारे साउन १५ गते नेपाल प्रहरीको साइबर ब्युरोमा समेत निवेदन दिएको र ब्युरोले थप विवरण माग गरिसकेको बताएका छन्।

उजुरीमा महासचिवले दर्ता–चलानी किताब, माइन्युट बुक तथा संस्थाका अन्य महत्वपूर्ण कागजात आफ्नो कब्जामा राखेको, आधिकारिक इमेल प्रणालीमा अवरोध सिर्जना गरी अन्य पदाधिकारीलाई पत्राचारबाट वञ्चित गरेको तथा केन्द्रीय कार्यसमितिको स्वीकृतिबिना व्यक्तिगत इमेलमार्फत अन्तर्राष्ट्रिय निकायसँग सम्पर्क गरेको उल्लेख गरिएको छ।

त्यस्तै, भदौ ४ गते कार्यवाहक अध्यक्ष अधिकारीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा महासचिवले अवरोध सिर्जना गरेको, कर्मचारीलाई आफूखुशी बिदा दिई कार्यालय बन्द गराएको तथा संस्थाका कागजात बोकेर हिँडेको आरोप पनि निवेदनमा लगाइएको छ।
कार्यसमितिको बहुमत सदस्यको उपस्थितिमा बसेको बैठकले स्पष्टीकरण सोधे पनि जवाफ नदिएको र संस्थालाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिन खोजेको दाबी अधिकारीले गरेका छन्।

संस्था दर्ता ऐन, २०३४ तथा क्यान महासंघको विधान २०७० (तेस्रो संशोधनसहित) विपरीत गतिविधि भएको भन्दै महासचिवलाई कार्यालयमा उपस्थित गराई आवश्यक कारबाही गर्न प्रशासनसँग माग गरिएको छ।

क्यान महासंघको ३१औँ वार्षिक साधारणसभा तथा १५औँ महाधिवेशनबाट सुनैना घिमिरे पाण्डे अध्यक्ष, चिरञ्जीवी अधिकारी वरिष्ठ उपाध्यक्ष र चन्द्रविलास भुर्तेल महासचिव निर्वाचित भएका थिए। अध्यक्ष पाण्डेले वैशाख ३० गते राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष अधिकारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP