काठमाडौं । मलेसिया रोजगारी प्रक्रियासँग जोडिएको पछिल्लो विवादका बीच नेपाल वैदेशिक रोजगार संघका निवर्तमान महासचिव मेघनाथ भुर्तेलले सरकारमार्फत कूटनीतिक पहल गरी समस्या समाधान खोज्न सुझाव दिएका छन्।
पछिल्लो समय मलेसिया रोजगारीमा कथित एकाधिकारको विषयलाई लिएर वैदेशिक रोजगार क्षेत्रभित्र विभिन्न चर्चा र बहस भइरहेका बेला भुर्तेलले सबै पक्ष संयमित भएर समाधानको बाटो खोज्नुपर्ने बताएका हुन्।
भुर्तेलका अनुसार हिजो राति एफडब्लुसीएमएस (FWCMS) मार्फत केही व्यवसायिक संस्थाहरूको नाम सार्वजनिक गरिएको थियो भने आज बिहान थप २५० व्यवसायिक संस्थाको नाम प्रकाशित गरिएको छ। यस घटनाले वैदेशिक रोजगार व्यवसायीहरूबीच थप अन्योल र चासो बढाएको उनको भनाइ छ।
उनले यस्ता संवेदनशील विषयमा आवेग र उत्तेजनाभन्दा पनि तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल तथा विभिन्न व्यवसायिक समूहमा अपुष्ट र भ्रामक सूचना प्रवाह गर्दा समस्या झन् जटिल बन्न सक्ने भन्दै उनले संयमता अपनाउन आग्रह गरेका छन्।
भुर्तेलले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित सबै पक्ष एकजुट भएर नेपाल वैदेशिक रोजगार संघलाई सक्रिय भूमिका खेल्न दबाब दिनुपर्ने धारणा राखेका छन्। उनका अनुसार संघले नेपाल सरकारसँग समन्वय गरी मलेसिया सरकारसँग औपचारिक संवाद र वार्तामार्फत देखिएको विवादको समाधान खोज्न पहल गर्नुपर्छ।
उनले व्यवसायीहरूको पेशागत सुरक्षालाई ध्यानमा राख्दै वास्तविकता सार्वजनिक गर्न र अन्योल अन्त्य गर्न सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने बताए।
भुर्तेलले कथित एकाधिकारको विषय सत्य प्रमाणित भए त्यसलाई अन्त्य गर्न आवश्यक कदम चाल्नुपर्ने उल्लेख गर्दै अहिलेको आवश्यकता आरोप–प्रत्यारोप होइन, समाधान खोज्ने प्रयास भएको बताएका छन्।
मलेसिया रोजगारी प्रक्रियासम्बन्धी पछिल्ला घटनाक्रमले वैदेशिक रोजगार क्षेत्रभित्र बहस तीव्र बनेको बेला भुर्तेलको यस्तो धारणा सार्वजनिक भएको हो।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!