भारतका सेनाध्यक्ष सेठले प्रधानमन्त्री शाहसँग गरे शिष्टाचार भेट, द्विपक्षीय सैन्य सम्बन्धबारे छलफल

भारतका सेनाध्यक्ष सेठले प्रधानमन्त्री शाहसँग गरे शिष्टाचार भेट, द्विपक्षीय सैन्य सम्बन्धबारे छलफल

काठमाडौँ। भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको सैनिक सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत उपस्थित थिए।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष सेठ आइतबार काठमाडौं आएका हुन्। पाँच सदस्यीय भ्रमण टोलीमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छिन्।
भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आयोजित विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।

सोमबार नै प्रधान सेनापति सिग्देल र जनरल सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। उक्त भेटमा दुई देशबीचको सैन्य सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यसैबीच, सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। उनले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा–आराधना समेत गरेका थिए।

नेपाली सेनाले मित्रराष्ट्रका उच्च सैनिक अधिकारीहरूको यस्ता भ्रमणले नेपाल–भारत सैन्य सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। जनरल सेठ बुधबार स्वदेश फर्कने कार्यतालिका रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
6 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP