डोल्पामा पहिरोसहितको बाढी बस्तीमा पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पामा पहिरोसहितको बाढी बस्तीमा पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा। लगातारको वर्षापछि डोल्पाको जगदुल्ला गाउँपालिका–५ स्थित गैरी गाउँमा गएराति पहिरोसहितको बाढी बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बाढीले कम्तीमा १० वटा घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख अनिलराज गिरीका अनुसार गएराति करिब ३ बजे गैरी गाउँ नजिक रहेको धुला खोलामा हिलो–माटोसहितको बाढी आएर बस्तीमा पसेको थियो।

बाढी बस्तीमा प्रवेश गरेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ र इलाका प्रहरी कार्यालय काईगाउँबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।

बाढीमा परी घाइते भएकी ५६ वर्षीया आनन्दी विकलाई प्रहरीले उद्धार गरी उपचारका लागि झ्याकोट स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा एक पुरुष, तीन महिला र दुई बालिका गरी ६ जना घाइते भएका छन्। उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा पाँच सदस्यीय थप प्रहरी टोली राहत, उद्धार तथा क्षति विवरण संकलनका लागि घटनास्थलतर्फ पठाइएको छ। दुर्गम भौगोलिक अवस्थाका कारण टोलीलाई घटनास्थल पुग्न करिब दुईदेखि तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP