काठमाडौं । मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय कृष्ण मूर्ति महाराजले देशमा पछिल्लो समय देखिएको संवेदनशील परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा हार्दिक अपिल गरेका छन् ।
शनिबार जारी विज्ञप्तिमार्फत उनले भावनामा बगेर होइन, बुद्धि, विवेक र संयमताका साथ अघि बढ्न आग्रह गर्दै कुनै एक व्यक्तिको गल्तीका कारण वर्षौँदेखि कायम रहेको सामाजिक सद्भाव खल्बलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
महाराजले सनातन धर्मले अन्यायको प्रतिकार गर्न सिकाए पनि घृणा फैलाउन नशिकाउने उल्लेख गर्दै धर्मको रक्षा हिंसाले नभई धर्माचरणबाट हुने बताएका छन्। उनले नेपाल भगवान् गौतम बुद्धको जन्मभूमि तथा धार्मिक सहिष्णुता र विविधताबीचको एकताको परिचय बोकेको राष्ट्र भएकाले अफवाह, उत्तेजना र विभाजनकारी गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेका छन्।
विज्ञप्तिमा उनले सरकारले घटनाको निष्पक्ष, पारदर्शी र द्रुत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने तथा दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै सुरक्षा निकायलाई बल प्रयोगलाई पहिलो विकल्प नबनाई संवाद, धैर्यता, संयमता र मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राखेर परिस्थिति व्यवस्थापन गर्न आग्रह गरेका छन्।
महाराजले राजनीतिक दल, धार्मिक अगुवा, सामाजिक अभियन्ता, बुद्धिजीवी, युवा तथा आम नागरिकलाई एकताबद्ध भएर शान्ति स्थापना अभियानमा लाग्न आह्वान गरेका छन्। सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि सत्यमा आधारित सूचना प्रवाह गर्न, सनसनीपूर्ण शीर्षक र अपुष्ट सामग्रीबाट बच्न अनुरोध गरेका छन्।
उनले अफवाहको पछि नलाग्न, उत्तेजनाको सिकार नबन्न र प्रतिशोधको बाटो नरोज्न सम्पूर्ण देशवासीलाई आग्रह गर्दै आपसी विश्वास, संयमता र सद्भावबाट मात्र स्थायी शान्ति सम्भव हुने बताएका छन्।
“आज हामीलाई क्रोध होइन, करुणा चाहिएको छ। द्वेष होइन, संवाद चाहिएको छ। प्रतिशोध होइन, न्याय चाहिएको छ। विभाजन होइन, राष्ट्रिय एकता चाहिएको छ,” विज्ञप्तिमा उल्लेख छ। उनले यही मार्गबाट समाज, धर्म र राष्ट्रको रक्षा सम्भव हुने विश्वास व्यक्त गरेका छन्।
रसुवा — भोटेकोशीको विनाशकारी बाढीपछि रसुवाको सदरमुकाम धुन्चेमा विद्युत् सेवा अवरुद्ध हुँदा सञ् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!