सरकारको पूरा ग्यास दिने घोषणा, तर उपभोक्ता दिनभर लाइनमा; निगमको दाबी– ‘अभाव छैन’

सरकारको पूरा ग्यास दिने घोषणा, तर उपभोक्ता दिनभर लाइनमा; निगमको दाबी– ‘अभाव छैन’

काठमाडौं । सरकारले केही साताअघि पूर्ण परिमाण (१४.२ केजी) को एलपी ग्यास सिलिन्डर वितरण गर्ने घोषणा गरे पनि देशका विभिन्न स्थानका उपभोक्ताले अझै ग्यास अभाव झेलिरहेका छन्। ग्यास नपाएपछि सर्वसाधारण बिहानैदेखि डिलर र सप्लायर्समा लाइन बस्न बाध्य भएका छन् भने कतिपयले एउटा सिलिन्डर साट्नसमेत दिनौँ कुर्नुपरेको गुनासो गरेका छन्। 

काठमाडौं उपत्यकादेखि बाहिरी जिल्लासम्म ग्यासका लागि लामो लाइन देखिन थालेको छ। उपभोक्ताहरूले बजारमा सहज रूपमा ग्यास नपाइरहेको बताइरहेका बेला नेपाल आयल निगमले भने देशभर ग्यासको अभाव नरहेको दाबी दोहोर्याएको छ। निगमका अनुसार आवश्यक परिमाणमा ग्यास आयात भइरहेको र आपूर्तिमा कुनै समस्या छैन। 

निगमले केही स्थानमा कृत्रिम अभाव सिर्जना गरिएको, अनधिकृत भण्डारण तथा आवश्यकताभन्दा बढी सञ्चय गर्ने प्रवृत्तिका कारण वितरणमा समस्या देखिएको जनाएको छ। तर उपभोक्ताहरू भने निगमको दाबी र बजारको वास्तविक अवस्था फरक रहेको बताउँछन्। 

पछिल्ला दिनमा सुर्खेत, काठमाडौं लगायत विभिन्न जिल्लामा उपभोक्ताले रातिदेखि नै लाइन बस्नुपरेको र ग्यास प्राप्त गर्न घण्टौँदेखि दिनौँसम्म कुर्नुपरेको समाचार सार्वजनिक भइरहेका छन्। 

ग्यास अभाव र वितरण प्रणालीबारे बढ्दो गुनासोबीच उपभोक्ताले बजारमा सहज आपूर्तिको माग गरेका छन् भने सम्बन्धित निकायले अनुगमन प्रभावकारी बनाउनुपर्ने आवाज उठ्न थालेको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP