राहदानी छपाइ अनियमितता प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्बभन्दा बढी बिगो दाबी

राहदानी छपाइ अनियमितता प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्बभन्दा बढी बिगो दाबी

काठमाडौं । राहदानी छपाइ प्रक्रियामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा गैरकानुनी लाभ–हानि पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार  दायर गरेको आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विभिन्न कसुरमा संलग्न रहेको ठहर गर्दै प्रतिवादीहरूबाट १० अर्ब १३ करोड ४ हजार ६ सय ४७ रुपैयाँ १ पैसा बिगो कायम गरिएको जनाएको छ। आयोगले सोही ऐनको व्यवस्था अनुसार कैद तथा जरिवानाको मागदाबी समेत गरेको छ।

मुद्दाका प्रतिवादीमध्ये १० जना कर्मचारी, दुई विदेशी कम्पनी (Muehlbauer ID Services GmbH र Veridos Company), चार विदेशी नागरिक तथा दुई नेपाली सहकार्यकर्ता रहेका छन्।

आरोपपत्र दर्तापछि विशेष अदालतले मुख्य प्रतिवादी तीर्थराज अर्याल, सुनिल कुमार केसी, तुलसीप्रसाद आचार्य, राजाराम दाहाल, सोमेश थापा, विपिन प्रसाईं र मणिन्द्रज अर्याललाई बयानका लागि अदालतमा उपस्थित गराउन आदेश दिएको छ। उनीहरूलाई आयोगले न्यायिक हिरासतमा राखी अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

राहदानी छपाइ तथा आपूर्ति सम्झौतासँग सम्बन्धित यो प्रकरण पछिल्ला वर्षकै उच्च रकमको भ्रष्टाचार मुद्दामध्ये एक मानिएको छ। आयोगले सार्वजनिक खरिद प्रक्रिया, लागत निर्धारण र ठेक्का व्यवस्थापनमा गम्भीर अनियमितता भएको निष्कर्षसहित मुद्दा दायर गरेको हो।

आयोगले भने यस मुद्दामा पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवासहित कुनै पनि राजनीतिक व्यक्तित्वलाई प्रतिवादी नबनाइएको स्पष्ट गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP