सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका करिब ५०० मोबाइल फोन तथा ५ वटा स्मार्ट घडी नष्ट गरेको छ । परीक्षा मर्यादा कायम राख्ने र भविष्यमा दुरुपयोग रोक्ने उद्देश्यले उपकरण नष्ट गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार परीक्षाका क्रममा ७ वटा आईफोनसहित ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल बरामद गरिएको थियो । ती सबै उपकरण हालै जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार नष्ट गरिएको हो, जसको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
तर प्रशासनको यो कदमप्रति अभिभावक र कानुन व्यवसायीहरूले गम्भीर आपत्ति जनाएका छन् । अभिभावक नवीन यादवले विद्यार्थीको गल्तीका कारण अभिभावकले कडा मेहनत गरेर किनेको सम्पत्ति नष्ट गर्नु उचित नभएको बताए । उनका अनुसार यस्तो अवस्थामा कानुनी कारबाही गर्न सकिने विकल्प हुँदाहुँदै सम्पत्ति नष्ट गर्नु गलत अभ्यास हो ।
कानुन व्यवसायी चन्दनकुमार कर्णले पनि मोबाइल व्यक्तिगत सम्पत्ति भएकाले त्यसलाई नष्ट गर्ने निर्णय कानुनी रूपमा विवादास्पद हुन सक्ने बताए । उनका अनुसार यदि अभिभावक अदालत पुगे भने निर्णयमा संलग्न अधिकारीहरूमाथि कारबाही र क्षतिपूर्ति दाबीसमेत हुन सक्ने सम्भावना छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने शिक्षा ऐन र जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार मोबाइल नष्ट गरिएको दाबी गरेका छन् । उनका अनुसार जफत सामग्री लिलामी गर्न सकिने व्यवस्था भए पनि पुनः दुरुपयोगको जोखिम रोक्न नष्ट गर्ने निर्णय गरिएको हो ।
प्रशासनले जनाएअनुसार बरामद मोबाइलहरूलाई २४ घण्टा पानीमा डुबाएर र त्यसपछि भौतिक रूपमा तोडफोड गरी पूर्ण रूपमा प्रयोग गर्न नसकिने बनाइएको थियो । यसका लागि शिक्षा विकास तथा समन्वय इकाइ सिरहाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको पाँच सदस्यीय समिति गठन गरिएको थियो ।
यस घटनाले परीक्षा व्यवस्थापन, कानुनी प्रक्रिया र विद्यार्थी-अभिभावकको सम्पत्ति अधिकारबारे नयाँ बहस सुरु गराएको छ ।
काठमाडौ । विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिकाले उपसचिव शेरबहादुर बिसिलाई विशेष सम्मान गरेको छ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!