महालेखापरीक्षक कार्यालय पहिलो पटक जिल्लास्तरमा, इलाममा दुईदिने अन्तर्क्रिया सम्पन्न

महालेखापरीक्षक कार्यालय पहिलो पटक जिल्लास्तरमा, इलाममा दुईदिने अन्तर्क्रिया सम्पन्न

इलाम।महालेखापरीक्षक कार्यालयले स्थापना भएयता पहिलो पटक जिल्लास्तरमा बहुसरोकारवालासँग लेखापरीक्षणसम्बन्धी दुईदिने अन्तर्क्रिया कार्यक्रम इलाममा सम्पन्न गरेको छ।

जेठ २० र २१ गते आयोजित कार्यक्रममा संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख, आर्थिक प्रशासन प्रमुख, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूसँग लेखापरीक्षणका अभ्यास, बेरुजु व्यवस्थापन, सूचना प्रविधिको प्रयोग तथा कार्यमूलक लेखापरीक्षणका विषयमा छलफल गरिएको हो।

कार्यक्रमको पहिलो दिन संघीय कार्यालयका कार्यालय प्रमुख तथा आर्थिक प्रशासन प्रमुखहरूसँग लेखापरीक्षणमा सूचना प्रविधिको प्रयोग, दूर लेखापरीक्षण, नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणाली (एनएएमएस), लेखापरीक्षणका क्रममा देखिएका प्रणालीगत तथा व्यवहारगत समस्या, बेरुजु प्रतिक्रिया र सम्परीक्षणका विषयमा प्रस्तुतीकरण गरिएको थियो। सोही दिन प्रदेश कार्यालय तथा स्थानीय तहका आर्थिक प्रशासन प्रमुखहरूसँग पनि यिनै विषयमा अन्तरक्रिया भएको थियो।

दोस्रो दिन स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा संघीय र प्रदेश कार्यालयका प्रमुखहरूको सहभागितामा लेखापरीक्षणसम्बन्धी कानुनी व्यवस्था, बेरुजुउपरको प्रतिक्रिया, सम्परीक्षण तथा लेखापरीक्षणको गुणस्तर र प्रभावबारे छलफल गरिएको थियो।

सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी अर्को सत्रमा कार्यमूलक लेखापरीक्षणको परिचय, उद्देश्य, महत्व, वर्तमान अभ्यास तथा नागरिक समाज संस्थाको भूमिकाबारे प्रस्तुतीकरण गरिएको थियो।

कार्यक्रममा महालेखापरीक्षक कार्यालयका प्रवक्ता तथा नायब महालेखापरीक्षक श्रीकुमार राई, निर्देशक प्रकाश खत्री र निर्देशक निषभ शाक्यले कार्यपत्र प्रस्तुत गर्दै सहभागीबाट उठाइएका जिज्ञासा, गुनासा तथा सुझावको सम्बोधन गरेका थिए।

प्रवक्ता राईले कार्यक्रमबाट वार्षिक लेखापरीक्षण योजना तर्जुमा, स्थलगत लेखापरीक्षण, प्रतिवेदन तथा सम्परीक्षण प्रक्रियामा सुधारका लागि आवश्यक सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे। उनले लेखापरीक्षकको कार्यव्यवहारसम्बन्धी गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने अवसरसमेत कार्यक्रमले प्रदान गरेको बताए।

महालेखापरीक्षक कार्यालयले यस्तै कार्यक्रम जेठ २२ र २३ गते पाँचथर तथा जेठ २५ र २६ गते ताप्लेजुङमा सञ्चालन गर्ने जनाएको छ। अर्को टोलीले गण्डकी प्रदेशका तनहुँ, लमजुङ र गोरखा जिल्लामा समेत यस्ता अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिरहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP