पालुङटारका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसि सम्मानित

पालुङटारका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसि सम्मानित

काठमाडौ । विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिकाले उपसचिव शेरबहादुर बिसिलाई विशेष सम्मान गरेको छ। हाल गोरखाको पालुङटार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत बिसिलाई टोखामा आयोजित एक विशेष समारोहमा सम्मान गरिएको हो।

टोखा नगरपालिकामा करिब ३० महिनाको कार्यकालमा उनले अघि सारेको नदी तथा सरसफाइ अभियानले आज १०० हप्ता पूरा गरेको अवसरमा उनलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ। उक्त अभियान उनले टोखामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा सुरु गरेका थिए।

कार्यक्रममा सम्मान ग्रहण गर्दै उपसचिव शेरबहादुर बिसिले यसलाई व्यक्तिगत उपलब्धिभन्दा बढी सामूहिक प्रयासको परिणाम भएको बताए। उनले भने,“यो सम्मान मेरो मात्र होइन, सम्पूर्ण टोली र टोखा नगरबासीको साझा मेहनतको परिणाम हो। यसलाई मैले अझ ठूलो जिम्मेवारीका रूपमा लिएको छु।”

उनले नदी तथा सरसफाइ अभियानको निरन्तरतामा जोड दिँदै भने,“टोखामा सुरु गरिएको यो अभियान जनसहभागितामा आधारित सफल अभ्यास हो। यसको निरन्तरता कायम राख्न सके मात्रै वातावरणीय सुधार दीगो हुन्छ।”

यसैबीच, टोखा नगरपालिका र पालुङटार नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा समेत छलफल भएको छ। दुवै स्थानीय तहबीच आपसी सहकार्य, अनुभव आदान–प्रदान र विकास साझेदारी विस्तार गर्ने प्रारम्भिक सहमति समेत बनेको बताइएको छ।

कार्यक्रममा बिसिले सम्पूर्ण टोखाबासीलाई पालुङटार नगरपालिकाको भ्रमणका लागि औपचारिक रूपमा आमन्त्रण गरेका छन्।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बिसिको योगदानको उच्च प्रशंसा गर्दै भने,“शेरबहादुर बिसिको कार्यकालमा सुरु भएको नदी तथा सरसफाइ अभियान टोखाको ऐतिहासिक उपलब्धि हो। उहाँको नेतृत्वले नगरको वातावरणीय व्यवस्थापनमा दीर्घकालीन प्रभाव पारेको छ।”

यसै क्रममा पालुङटार नगर प्रमुख बिवस चिन्तनले पठाएको औपचारिक पत्र उपसचिव बिसिले टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलाई हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP