सुकुम्बासी बस्ती हटाउने कदमप्रति कुलमान घिसिङको आपत्ति, मानवीय संकटको चेतावनी

सुकुम्बासी बस्ती हटाउने कदमप्रति कुलमान घिसिङको आपत्ति, मानवीय संकटको चेतावनी

काठमाडौँ - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं उपत्यकाका नदी किनार क्षेत्रबाट अव्यवस्थित बसोबासी तथा सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले स्पष्ट योजना बिना गरिएको यस्तो कदमले मानवीय संकट निम्त्याएको टिप्पणी गरेका छन्।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका ३६ वर्षीय भेषराज दर्जीको मृत्यु भएपछि घिसिङले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना पनि प्रकट गरेका छन्।

घिसिङका अनुसार राज्यले पूर्वतयारी र दीर्घकालीन योजनाबिना नै सुरक्षाकर्मी परिचालन गरी बस्ती हटाउँदा विस्थापित नागरिकहरूले ज्यान गुमाउने अवस्था आएको छ। उनले हालसम्म यस क्रममा तीन जनाको मृत्यु भइसकेको दाबी समेत गरेका छन्।

उनले मृतक दर्जीलाई समयमै उचित उपचार र हेरचाह उपलब्ध हुन नसकेको विषयलाई पनि गम्भीर लापरवाहीको रूपमा उल्लेख गरेका छन्। विस्थापित नागरिकहरूको व्यवस्थापन, स्वास्थ्य सुरक्षा तथा आधारभूत मानव अधिकारप्रति राज्यले पर्याप्त ध्यान नदिएको उनको आरोप छ।

घिसिङले बस्ती हटाउने प्रक्रियामा देखाइएको तत्परतासरह प्रभावित परिवारको पुनर्स्थापना, सुरक्षित आवास, खानेपानी, सरसफाइ र स्वास्थ्य सेवामा पनि समान संवेदनशीलता आवश्यक रहेको बताएका छन्।

साथै, होल्डिङ सेन्टरमा रहेका नागरिकलाई तत्काल आधारभूत सुविधा उपलब्ध गराएर सम्मानजनक जीवनयापनको वातावरण बनाउन सरकारलाई उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP