कैदीलाई अस्पताल भन्दै होटलमा लगेर ‘मस्ती’, प्रहरीमाथि गम्भीर लापरबाहीको आरोप

कैदीलाई अस्पताल भन्दै होटलमा लगेर ‘मस्ती’, प्रहरीमाथि गम्भीर लापरबाहीको आरोप

२१ जेठ, काठमाडौं । उपचारका लागि भन्दै कारागारबाट निकालिएका एक कैदीलाई प्रहरीले अस्पतालको सट्टा होटलमा लगेर मदिरा सेवन गराउनुका साथै युवतीसँग समय बिताउन दिएको खुलासा भएको छ । घटनालाई लिएर प्रहरीभित्रै आन्तरिक छानबिन सम्पन्न भए पनि विषय गुपचुप राखिएको छ ।

ठगी मुद्दामा केन्द्रीय कारागार सुन्धारा तथा जगन्नाथदेवमा रहेका अनुप भण्डारीलाई ढाडको उपचारका लागि भन्दै बाहिर लगिएको थियो । तर उनलाई सामाखुसीस्थित दीप सागर गेस्ट हाउसमा लगेर मासु र बियर खुवाउनुका साथै करिब तीन घण्टा युवतीसँग समय बिताउन दिएको तथ्य अनुसन्धानमा खुलेको छ ।

छानबिनअनुसार प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकले भण्डारीलाई हतकडी फुकालेर होटल पुर्‍याएका थिए । सुरक्षामा खटिएका दुवै प्रहरी बर्दीमै रहेको अवस्थामा उक्त गतिविधि भएको प्रतिवेदनमा उल्लेख छ ।

कैदी भण्डारीले समेत आफूलाई अस्पताल लैजाने बहानामा होटल लगिएको र त्यहाँ मदिरा सेवन तथा युवतीसँग बस्न दिइएको स्वीकार गरेको विवरण छानबिन प्रतिवेदनमा समावेश गरिएको छ ।

घटनाबारे आन्तरिक छानबिन सम्पन्न भए पनि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले औपचारिक रूपमा सार्वजनिक नगरेको बताइएको छ । छानबिन समितिले संलग्न प्रहरी कर्मचारीलाई बर्खास्त गर्नुपर्ने सुझावसमेत दिएको स्रोतले जनाएको छ ।

यसैबीच, एक महिनाभित्रै कारागारभित्र फरार र झडपजस्ता घटनासमेत दोहोरिएपछि सुन्धारा कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

चिडियाखानामा ‘ट्रम्प’ भैँसी
7 घण्टा अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा र ...

छुटाउनुभयो कि ?

TOP