सरकारी साक्षीविरुद्ध ५० लाख रुपैयाँ घुस प्रकरणमा अख्तियारको आरोपपत्र

सरकारी साक्षीविरुद्ध ५० लाख रुपैयाँ घुस प्रकरणमा अख्तियारको आरोपपत्र

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० लाख रुपैयाँ घुस लेनदेनमा संलग्न रहेको आरोपमा सरकारी साक्षी ईश्वरी प्रसाद गौतमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ईश्वरी प्रसाद गौतमले आयोगसमक्ष दिएको बयान र आरोप मागदाबीविपरीत विशेष अदालतमा बकपत्र गरेका थिए।

अनुसन्धानका क्रममा गौतमले प्रतिवादी चन्द्र बहादुर अधिकारीलाई ऋण उपलब्ध गराइदिएबापत ५० लाख रुपैयाँ घुस माग गरी लिएको रकमको लेनदेनमा संलग्न रहेको पुष्टि भएको अख्तियारको दाबी छ।

यसअघि अनुसन्धानमा सहयोग गरेका कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम उनलाई सजायमा पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो। तर अदालतमा दिएको बयान आयोगको अनुसन्धान निष्कर्षसँग बाझिएको पाइएपछि पुनः अनुसन्धान गरिएको थियो।

अनुसन्धानबाट घुस रकम ५० लाख रुपैयाँ कायम गरी गौतमविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगोबराबरको जरिवाना माग गर्दै अख्तियारले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता दोहोर्याइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP