कंगोमा इबोला संकट गहिरियो, डब्लूएचओद्वारा अन्तर्राष्ट्रिय आपत्काल घोषणा

कंगोमा इबोला संकट गहिरियो, डब्लूएचओद्वारा अन्तर्राष्ट्रिय आपत्काल घोषणा

काठमाडौं । कंगोमा फैलिएको इबोला संक्रमणलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालको रूपमा घोषणा गरेको छ । पूर्वी इटुरी प्रान्तमा संक्रमण तीव्र बनेपछि विश्वव्यापी सतर्कता बढाइएको हो ।

डब्लूएचओका अनुसार हालसम्म दुई सय ४६ जनामा संक्रमण पुष्टि भएको छ भने ८० जनाको मृत्यु भइसकेको छ । यद्यपि, यो अवस्था अझै महामारीको स्तरमा नपुगेको संगठनले स्पष्ट पारेको छ ।

बुन्डिबुग्यो भाइरसका कारण फैलिएको यो इबोला प्रकारको हालसम्म कुनै स्वीकृत औषधि वा प्रभावकारी खोप उपलब्ध नभएको डब्लूएचओले जनाएको छ । यसले स्वास्थ्य निकायहरूलाई थप चिन्तित बनाएको छ ।

कंगोका विभिन्न क्षेत्रमा सीमित रहेको संक्रमण अब छिमेकी मुलुकसम्म फैलिन थालेको छ । युगान्डामा ५९ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ भने कंगोका एक संक्रमित नागरिकको युगान्डामै मृत्यु भएको बताइएको छ ।

एम–२३ सशस्त्र समूहको प्रभाव रहेको गोमा क्षेत्रसमेत संक्रमणको जोखिममा परेको छ । यसले सहरी क्षेत्रमा मानवीय संकट निम्तिन सक्ने चेतावनी डब्लूएचओले दिएको छ । कंगोसँग सीमा जोडिएका मुलुकहरूलाई पनि उच्च जोखिममा राखिएको छ ।

संक्रमण नियन्त्रणका लागि कंगो र युगान्डामा आपत्कालीन केन्द्र स्थापना, सम्पर्क पहिचान तथा संक्रमितलाई तुरुन्त अलग्गै राख्ने उपाय अपनाउन डब्लूएचओले सुझाव दिएको छ । संक्रमित व्यक्तिले ४८ घण्टाको अन्तरालमा दुई पटक परीक्षण गर्दा नतिजा नेगेटिभ नआएसम्म अलग्गै बस्नुपर्ने बताइएको छ ।

यसअघि सन् दुई हजार अठारदेखि दुई हजार बीस बीच कंगोमा फैलिएको इबोला प्रकोपमा दुई हजार तीन सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । पछिल्लो पाँच दशकमा अफ्रिकी मुलुकहरूमा मात्रै इबोलाका कारण करिब पन्ध्र हजार जनाले ज्यान गुमाइसकेका छन् ।

डब्लूएचओका महानिर्देशक Tedros Adhanom Ghebreyesus ले संक्रमितको वास्तविक संख्या र रोगको फैलावटबारे अझै अनिश्चितता रहेको बताएका छन् । संगठनले त्रासका कारण सीमा बन्द वा व्यापार रोक्ने कदम वैज्ञानिक रूपमा प्रभावकारी नहुने जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP