इबोला आतंकः कंगोमा ८० जनाको मृत्यु, विश्वभर स्वास्थ्य सतर्कता

इबोला आतंकः कंगोमा ८० जनाको मृत्यु, विश्वभर स्वास्थ्य सतर्कता

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कंगो लोकतान्त्रिक गणतन्त्र को पूर्वी इतुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको छ। संक्रमण सीमापार फैलिन सक्ने जोखिम बढेपछि विश्वभर स्वास्थ्य सतर्कता बढाइएको हो।


डब्लूएचओका अनुसार हालसम्म २४६ जना शंकास्पद संक्रमित फेला परेका छन् भने कम्तीमा ८० जनाको मृत्यु भइसकेको छ। यद्यपि, हालको अवस्थाले विश्वव्यापी महामारीस्तरको आपतकालीन मापदण्ड भने अझै पूरा नगरेको बताइएकोछ।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेसस ले संक्रमितको वास्तविक संख्या र रोगको भौगोलिक फैलावटबारे अझै “गम्भीर अनिश्चितता” रहेको चेतावनी दिएका छन्। उनका अनुसार रोगको वास्तविक अवस्था सार्वजनिक विवरणभन्दा अझ जटिल हुन सक्ने संकेत देखिएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार यो संक्रमण बुन्डिबुग्यो प्रकारको इबोला भाइरसका कारण भएको हो, जसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन। प्रयोगशालाबाट पुष्टि भएका संक्रमित विभिन्न क्षेत्रमा भेटिएका छन्। संक्रमण युगान्डा सम्म फैलिसकेको पुष्टि भइसकेको छ, जहाँ दुई जनामा संक्रमण देखिएको बताइएको छ।

विशेषगरी सीमावर्ती क्षेत्रहरूमा उच्च जनआवागमन, व्यापार र यात्राका कारण संक्रमण थप फैलिन सक्ने जोखिम बढेको विज्ञहरूले बताएका छन्। त्यसैले डब्लूएचओले प्रभावित देशहरूलाई निगरानी प्रणाली थप कडा बनाउन, संक्रमितलाई तुरुन्त अलग राख्न र आपतकालीन सञ्चालन केन्द्र सक्रिय गर्न आग्रह गरेको छ।

डब्लूएचओले सीमा बन्द गर्न वा यात्रा–व्यापार रोक्न नहुने स्पष्ट गरेको छ। संस्थाका अनुसार डरका आधारमा गरिने यस्ता निर्णयहरूको वैज्ञानिक आधार कमजोर हुने गर्छ।
इबोला पहिलो पटक सन् १९७६ मा कंगोमा पत्ता लागेको थियो। यो भाइरस संक्रमित व्यक्तिको शरीरका तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क वा घाउमार्फत सर्ने गर्छ। प्रारम्भिक लक्षणमा ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने, अत्यधिक थकान र घाँटी दुख्ने देखिन्छ भने अवस्था गम्भीर बन्दै जाँदा बान्ता, पखाला र रक्तस्रावसमेत हुन सक्छ।

अफ्रिकामा पछिल्ला पाँच दशकमा इबोलाका कारण करिब १५ हजार मानिसले ज्यान गुमाइसकेका छन्। कंगोमा सन् २०१८ देखि २०२० सम्म फैलिएको प्रकोप सबैभन्दा घातक मानिन्छ, जहाँ मात्रै करिब २ हजार ३०० जनाको मृत्यु भएको थियो। अहिलेको नयाँ प्रकोपले पुनः विश्व स्वास्थ्य समुदायलाई गम्भीर चिन्तामा पारेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP