ककनी, कार्तिक २१ — सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कर्मचारीहरूलाई देश र नागरिकको सेवा तथा सुरक्षामा समर्पित रहन निर्देशन दिनुभएको छ।
ककनीस्थित सशस्त्र प्रहरी बल यूएन शान्ति स्थापना तालिम शिक्षालयमा शुक्रबार आयोजित सि.सं. १७ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक (स.प्र.स.नि.) आधारभूत तालिमको दिक्षान्त समारोहमा बोल्दै महानिरीक्षक अर्यालले सानो गल्तीले व्यक्तिगत मात्र होइन, संगठनको छविमासमेत असर पार्ने भन्दै हरेक सशस्त्र प्रहरी सदस्यलाई अनुशासित, विवेकशील र जिम्मेवार रहन निर्देशन दिनुभयो।
उहाँले तालिम सफलतापूर्वक पूरा गरेका प्रशिक्षार्थीहरूलाई बधाई दिँदै तालिममा सिकेका सीप र अनुशासनलाई कार्यक्षेत्रमा इमानदारीपूर्वक लागू गर्न आग्रह गर्नुभयो। “तालिम भनेको गन्तव्य होइन, मार्ग हो,” महानिरीक्षक अर्यालले भन्नुभयो, “राज्य र नागरिकको सेवामा रहँदा उत्कृष्ट कार्यसम्पादन गर्न सके मात्र तपाई र तपाईको परिवारको गौरव सार्थक हुन्छ।”
अर्यालले सीमित स्रोतसाधनका बीच पनि राष्ट्र सेवक तयार पार्ने प्रशिक्षक वर्गको प्रशंसा गर्दै अभिभावकहरूलाई आभार व्यक्त गर्नुभयो। उहाँले देशको विषम परिस्थिति, शान्ति प्रक्रिया र बदलिँदो सुरक्षा चुनौतीबीच सशस्त्र प्रहरी बल नेपाल देशकै अब्बल सुरक्षा निकायका रूपमा स्थापित भएको बताउनुभयो।
वर्तमान सुरक्षा चुनौतीहरू बहुआयामिक र जटिल भएको उल्लेख गर्दै उहाँले सीमा सुरक्षा, आन्तरिक शान्ति, राजश्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनलाई कार्यको मूलमन्त्र बनाउन सके कार्यक्षेत्रमा सफलता प्राप्त हुने बताउनुभयो।
आगामी फागुन २१ गते हुने चुनावलाई भयरहित र शान्त वातावरणमा सम्पन्न गर्न सम्पूर्ण सशस्त्र प्रहरीलाई तयारी अवस्थामा रहन समेत उहाँले निर्देशन दिनुभयो।
दिक्षान्त समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। कवाज र शारीरिक सहिष्णुतातर्फ विष्णु कुमार तामाङ तथा चाँदमारीतर्फ अमन सहनी उत्कृष्ट घोषित भए।
गत कार्तिक ५ गतेदेखि सञ्चालन भएको सो आधारभूत तालिममा ४७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक सहभागी थिए। कार्यक्रममा नुवाकोट प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी, स्थानीय प्रतिनिधि र अभिभावकहरू सहभागी थिए।
सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई बढुव ...
प्रतिक्रिया